२०८१ श्रावण १२

एमाले महासचिव पोखरेलको नेतृत्वमा २२ सदस्यीय टोली चीन जाँदै
  • लुम्बिनी खोज
  • २०८० भाद्र १५, शुक्रबार ११:४४ गते

काठमाडौ,१५ भदौ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सदभावनापूर्ण भ्रमण गर्ने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति त्यसतर्फ प्रस्थान गर्नेछ।

भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमसहित २२ सदस्यीय एमाले नेता छन्।

भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाईको भ्रमण गर्नेछ। भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने तथा भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष तथा नेकपा एमाले र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने एमालेले जनाएको छ।

भ्रमण टोलीमा पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह, केन्द्रीय सदस्य रामबहादुर मगर, केन्द्रीय सदस्य तथा अनेमसंघकी अध्यक्ष टुकाभद्र हमाल, केन्द्रीय सदस्यहरू सहदेव बोगटी, नीरजप्रसाद आचार्य, मञ्जुदेवी गुरुङ, अजयकुमार गुप्ता, भगवती थापा, मानवीर राई, कपिलदेव पोखरेल र रचना खड्का छन्।

त्यस्तै, जनसंगठनहरूबाट प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राई, जिफन्टका महासचिव लक्ष्मणकुमार शर्मा, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका अध्यक्ष समिककुमार बडाल छन्। त्यसैगरी, एमाले अर्घखाँचीका अध्यक्ष पीताम्बर भुसल, एमाले परराष्ट्र मामिला विभागका सदस्य गोपाल खनाल, लुम्बिनी प्रदेश सदस्य हुमाकुमारी डिसी र महासचिव पोखरेलका स्वकीय सचिव सरोज रेग्मी भ्रमण टोलीमा समावेश छन्।