२०८१ श्रावण १२

एमाले लुम्बिनी प्रदेश नेतृत्वका लागि मतदान सकियो, ९६५ मत खस्यो
  • लुम्बिनी खोज
  • २०८० भाद्र १९, मंगलवार १०:२२ गते

बुटवल १९ भदौ ।
नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि बुटवलमा आज भएको मतदानमा नौ सय ६५ मत खसेको छ।
बुटवल स्थीत अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा १६ गतेबाट जारी अधिवेशनमा नेतृत्व चयनका लागि आज बिहानबाट सुरु भई दिउँसो सकिएको मतदानमा कुल एक हजार चारजना मतदाता रहेकोमा नौ सय ६५ मत खसेको निर्वाचन कमिटीले जानकारी दिएको छ।
निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले मतगणना सुरु गर्ने तयारी थालिएको भन्दै आजै रातिसम्म गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारीमा निर्वाचन कमिटी रहेको बताए।

यहाँ नेतृत्वका लागि अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल चुनावी मैदानमा छन्।

कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्। कँडेल एमालेको लुम्बिनी प्रदेशको तदर्थ समितिका अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन्। पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये आठ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन्।

पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ। यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको छ।

प्रदेश कमिटीमा चयन हुने पाँच पदाधिकारीसहित दुई सय पाँच सदस्यमध्ये जिल्लाबाट चयन हुने सदस्यहरू अधिकांश जिल्लाबाट निर्विरोध चयन भएका छन्। यी जिल्लाबाट आवश्यक संख्याअनुसार कपिलवस्तुबाट २१, अर्घाखाँचीबाट ११, पाल्पाबाट १४, नवलपरासी पश्चिमबाट १४, बर्दिया १४, प्युठानबाट १०, रोल्पाबाट ६ र रुकुम पूर्वबाट ६ जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ।

लुम्बिनीका १२ जिल्लामध्ये अब चार जिल्लाबाट चयन हुने सदस्य छान्न मतदान भएको छ। यी चार जिल्लामा पनि कुनै जिल्लामा खुलातर्फ त कुनै जिल्लामा आदिवासी जनजाति जस्ता क्षेत्रबाट प्रतिनिधि हुनेमा मतदान भएको छ। त्यस्तै, पदाधिकारी पाँचमध्ये सचिवबाहेक चारवटामा निर्वाचन भएको छ। त्यस्तै प्रदेशमा खुलातर्फबाट सदस्य चयन गर्न ३७ जना उम्मेदवारबीच मतदान भएको छ। खुलातर्फ चयन हुने संख्या जम्मा १० छ।

एमालेको प्रदेश अधिवेशनअन्तर्गत सुरुमै लुम्बिनीमा गर्न लागिएको पहिलो प्रदेश अधिवेशनमा सहमति प्रयास असफलपछि एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्वका लागि मतदान भएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको नेतृत्व सहमतिबाट चयन गर्न विशेष जोड गर्दै बुटवलमा नेता तथा प्रतिनिधिहरूलाई निर्देशन दिएर फर्किए पनि यहाँ सहमति जुट्न नसकेपछि मतदानबाट नेतृत्व चयन गरिन लागेको छ।

यहाँ दुई पक्षको अघोषित प्यानल चुनावी मैदानमा भिडेका थिए । तर, सचिव पदमा भने हालका सचिव लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन्। अन्य पदमा भने दुवै पक्षका उम्मेदवार चुनावी मैदानमा भिडेका हुन्। यहाँ उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ रुपन्देही, पुजन विश्वकर्मा बाँके, विश्वराज बराल (अनुप) रुपन्देही र शान्तकुमार वली रोल्पा गरी चारजना मैदानमा छन्। एक–एक गरी दुई उपसचिवका लागि पुरुषमा तीन र महिलामा तीनजना चुनावी मैदानमा छन्।

लुम्बिनीमा यसअघि पाँच सय ७६ सदस्यीय प्रदेश संगठन कमिटी रहेकोमा अधिवेशनले दुई सय पाँच सदस्यीय कमिटी बनाउनेछ। अधिवेशनमा १२ वटै जिल्लाका ८२ हजार आठ सय ९५ पार्टी सदस्यबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनबाट छानिएका एक हजार चार प्रतिनिधि सहभागी थिए।