२०८१ श्रावण १२

लुम्बिनी आयुर्वेद चिकित्सालयले गर्‍यो जिल्ला स्तरीय समिक्षा गोष्ठी
  • लुम्बिनी खोज
  • २०८० आश्विन ७, आईतवार १४:१० गते

आयुर्वेदमा आकर्षण बढ्दो तर जनशक्ति, उपकरण र औषधीको अभाव रहेको गुनासो

बुटवल, ७ असोज ।
लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलले आइतबार बुटवलमा जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठी गरेको छ । गोष्ठीमा लुम्विनी आयुर्वेद चिकित्सालय तथा स्थानिय तहहरुमा रहेका नागरिक आयुर्वेद केन्द्र र आयुर्वेद औषधालयहरुमा आवद्ध स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले आयुर्वेद उपचार पद्धती तर्फ आक्रषण बढ्दै गएपनि सेवा प्रभावकारी बनाउन जनशक्ति, उपकरण र औषधीको अभाव हुने गरेको बताएका थिए ।
लुम्विनी आयुर्वेद चिकित्सालयका बरिष्ठ कविराज निरिक्षक गणेश सापकोटाले आयुर्वेद उपचार पद्धतीलाई अझ प्रभावकारी बनाउन गोष्ठीमा गहन छलफल भएको बताए । हाल दिइरहेका सेवा देखि हालको अवस्थाबारे सहभागिले कुरा राखेको भन्दै उनले आगामी दिनमा सेवा प्रभावकारी बनाउन आवश्यक स्रोत साधनका बारेमा पनि छलफल भएको बताए ।
कार्यक्रममा नागरिक आरोग्य कार्यक्रमका बारेमा पनि गहन छलफल भएको थियो । आयुर्वेद तथा वैकल्पिक चिकित्सा बिभागका महानिर्देशक डाक्टर बासुदेव जनार्दन उपाध्यायले आम नागरिकले आयोग्य केन्द्र मार्फत स्वस्थ्य जीवन शैलीका बारेमा बुझ्नु रहेकाले यस कार्यक्रमको महत्व रहेको बताए । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नारालाई सार्थक पार्न नागरिकहरुको सशक्त सहभागिता मार्फत शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य शरीर, सकरात्मक सोच र ब्यक्तित्व विकास गरी स्वस्थ समाज निर्माण गर्नु नागरिक आयोग्य कार्यक्रमको उद्देश्य रहेको उनले बताए । महानिर्देशक उपाध्यायले यस कार्यक्रमलाई पाइलट प्रोजेक्टका रुपमा अगाडी बढाइएको धारणा राख्दै अर्थमन्त्रालयसग आवश्यक बजेट माग गरिएको बताए । स्थानियको सहकार्यमा कार्यक्रम अगाडी बढाउदा प्रभावकारी हुने धारणा उनले राखे ।
उनले सेवा विस्तारका लागि स्थानियको चासो बढ्नुपर्ने भन्दै आवश्यक सहयोगका लागि आफू लागि पर्ने धारणा समेत राखे ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय लुम्विनीका महाशाखा प्रमुख डाक्टर पुष्पराज पौडेलले प्रदेश सरकार अस्पतालको सेवा विस्तारमा सकरात्मक रहेको धारणा राखे । चिकित्सालयका प्रमुख डाक्टर प्रवेश श्रीवास्तवले चिकित्सालयको प्रगति विवरण प्रस्तुत गर्दै कम जनशक्तिका वीच पनि सेवालाई प्रभावकारी बनाउदै लगिएको बताए । उनले जनशक्तिको अभाव देखि अस्पतालमा आवश्यक साधनहरुका बारेमा समेत धारणा राखेका थिए । लुम्बिनी आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष शिव ज्ञवालीले सेवा प्रभावकारी बनाउन जनशक्ति ब्यवस्थापन देखि अन्य स्रोत साधनको ब्यवस्थापनका लागि समिति लागि पर्दै आएको धारणा राखेका थिए ।
रुपन्देहीमा गत आर्थिक वर्षमा आयुर्वेद उपचार पद्धती मार्फत ७९ हजार ९६ जनाले सेवा लिएका छन् । सेवा लिनेमा महिलाको संख्या ४५ हजार ८ सय ६१ र पुरुषको संख्या ३३ हजार २ सय ३५ रहेको छ ।
जनशक्तिदेखि एक्सेरे सम्मका लागि मन्त्री समक्ष माग


समिक्षा गोष्ठी जारी रहेकै अवस्थामा चिकित्सालयको निरिक्षणमा आइपुगेका प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल समक्ष चिकित्सालयले विभिन्न समस्या राखेको छ । चिकित्सालयका डाक्टर प्रवेश श्रीवास्तवले अस्पतालमा सेवाग्राही बढ्दो रहेको तर जनशक्ति कम रहेको बताए । हाल दरवन्दीका ६ सहित १८ जनाबाट सेवा प्रवाह गर्दै आएको भएपनि ३९ जना आवश्यक रहेको बताए । प्रस्तावित दरवन्दी ३९ का अतिरिक्त चिकित्सालयलाई स्टाफ नर्स, एक्सेरे तथा भिडियो एक्सेरे सेवाका अतिरिक्त एम्वुलेन्स सेवाको पनि खाचो रहेको बताए । सरकारबाट सहयोग भएमा अस्पताललाई ५० वेडमा विस्तार गर्ने योजना रहेको चिकित्सालयले जनाएको छ । मन्त्री समक्ष विकास समितिका अध्यक्ष शिव ज्ञवालीले कर्मचारी ब्यवस्थापनका लागि फाइल मन्त्रालयमा पठाइसकिएको भन्दै मन्त्री समक्ष कर्मचारीको समस्याका बारेमा कुरा राखेका थिए ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा बिभागका महानिर्देशक डाक्टर बासुदेव जनार्दन उपाध्यायले देशभरीकै नमुना अस्पतालका रुपमा लुम्विनी आयुर्वेद चिकित्सालयलाई विकास गर्न सक्दो सहयोग गर्ने बताए । मन्त्री खनालले आयुर्वेद उपचार तर्फ आकर्षण बढ्दै गएको भन्दै स्तरीय सेवा दिन लागि पर्न निर्देशन दिए ।