२०८१ श्रावण १२

जातीय मुक्ति समाज रुपन्देहीले मनायो ३६ औँ स्थापना दिवस
  • लुम्बिनी खोज
  • २०८० पुष ३, मंगलवार १२:३९ गते

बुटवल, ३ पुस ।

नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज रुपन्देहीले मंगलबार ३६ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा समाजले “दलित मुक्ति आन्दोलनका उपलब्धि, वर्तमान र आगामी कार्यभार” विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रमको उदघाटन गर्दै एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले नेपाल उत्पीडित जातीय मुक्ति समाजले दलित आन्दोलनको नेतृत्व हाँकेको बताए । उनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन दलित समुदायका उम्मेदवारलाई प्रत्यक्ष निर्वाचित गराउन सफल भएको बताउँदै दलित उम्मेदवारलाई प्रत्यक्ष निर्वाचनमा विजयी गराउन सक्नु पार्टीको सफलता भएको उल्लेख गरे । तर, दलित समुदायका प्रतिनिधि जिताएर मात्रै मुक्ति समाजको काम नसकिएको उनले बताए ।
‘राष्ट्रिय आवश्यकताका दृष्टिकोणले हर्ने हो भने हाम्रा लक्ष्य अझै हासिल गरेका छैनौँ,’ उनले भने, ‘मुक्ति समाजले जातीय विभेदबाट मुक्तिका लागि अझै धेरै काम गर्नुपर्ने छ ।’
एमालेका अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले नेपाल उत्पीडित जातिय मुक्ति समाजले राखेका उद्देश्यलाई ध्यानमा राखेर काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आह्वान गरे । त्यस्तै, जातीय विभेद र छुवाछुतलाई समग्रमा अन्त्य गर्ने अभियानलाई अघि बढाउन र मुक्ति समाजलाई अझ बलियो बनाउन पनि आग्रह गरे ।
एमालेका केन्द्रीय सल्लाहकार एकराज विश्वकर्माले समाजले छुवाछुत मुक्त राष्ट्रको वकालत गदै आएको भन्दै मानवको बाँच्न पाउने भेदभावरहित समाजको निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले देशमा भएका जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्नु, राष्ट्रिय नीति निर्माण गर्नु, समानुपातिक समावेशीपूर्ण प्रतिनिधित्वको संवैधानिक अग्राधिकार सुनिश्चित गर्नु मुख्य कार्यभार रहेको बताए ।
प्रदेशसभा सदस्य कमलादेवी विश्वकर्माले दलित समुदायलाई भोट बैंकका रुपमा मात्रै प्रयोग नगरी पार्टीले उचित स्थान दिनुपर्ने बताइन् ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले दलित समुदायमाथि भएको विभेद अन्त्य हुँदै गएको बताउँदै सामाजिक रुपमा पछाडि पारिएका वर्ग क्षेत्रका लागि एमालेले काम गर्ने बताए ।
समाजका केन्द्रीय सदस्य रवि सेन्चुरीले दलित आन्दोलन, समाजले खेलेको भूमिका, नेपालमा दलित समुदायको पछिल्लो अवस्था, अवको बाटो लगायतका विषय समेटेर अवधारणापत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एमाले नेताहरु चित्रबहादुर कार्की, तेजप्रसाद सेन्चुरी, समाजका जिल्ला अध्यक्ष दिपेन्द्र विश्वकर्मा, उपाध्यक्ष विकास गहतराज सचिव हेमबहादुर बिश्वकर्मालगायतले गणतान्त्रिक मुलकका नागरिक भएर पनि समाजमा जातीय छुवाछुत र विभेद कायमै रहेकाले यसको अन्त्यका लागि सबै जागरुक हुनुपर्ने बताएका थिए ।
मुक्ति समाजले समाजिक न्यायका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाएको समाजका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सुरेन्द्र श्रीले जानकारी दिए ।