२०८१ श्रावण १२

लुम्बिनी एक्स्पोमा सांस्कृतिक कार्यक्रम रोचक बन्दै
  • लुम्बिनी खोज
  • २०८० पुष ८, आईतवार १४:५४ गते

बुटवल, ८ पुस।
रुपन्देही व्यापार संघको आयोजनामा बिहिवारबाट बुटवलमा सुरु भएको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलाको आइतवार चौथो दिन पुग्दा सांस्कृतिक कार्यक्रम अन्तरगतका प्रतियोगिता एवं कलाकारहरुको प्रस्तुति रोचक बन्दै आएको छ । संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको व्यापार मेला पुष १८ गतेसम्म सञ्चालन हुने छ । मेलाको आइतवारसम्म करिव १ लाख दर्शक अवलोकनका लागि प्रदर्शनीस्थल प्रवेश गरेको सचिवालयले जनाएको छ ।


संघको आयोजनामा आधुनिक प्रदर्शनी केन्द्रमा आयोजना गरिएको प्रदर्शनीमा दर्शकहरुले नयाँ अनुभूति गर्नुका साथै चासोका साथ अवलोकन गरेको अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए। दर्शकहरुको आगमन तथा स्टलमा राखिएका सामाग्रीहरुमा उनीहरुले देखाएको चासोले आफुहरु उत्साहित बनेको मुल समितिका संयोजक समेत रहेका अध्यक्ष घिमिरेले बताए ।
प्रदर्शनी अवलोकन गर्न आएका दर्शकहरुले पेभेलियनमा राखिएका उत्पादन प्रक्रियामा चासो देखाएर हेर्नुकासाथै खरिद पनि गरेका थिए । प्रदर्शनीलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आन्तरिक सुरक्षा प्रवन्ध मिलाएको सुरक्षा समितिका संयोजक अर्जुन भट्टराईले बताए । उनले प्रदर्शनी स्थल भित्र कुनै पनि अप्रिय घटना घट्न नपाओस भनेर निकै सतकर्ता अपनाएको र त्यसका लागि स्थलभित्र प्रर्याप्त सिसी क्यामराको व्यवस्था गरिएको जानकारी दिए ।
दर्शहरुको आर्कषणको क्षेत्र प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुति तथा प्रतियोगिताहरु रोचक बन्दै गएका छन् । आइतवार चर्चित लोकदोहोरी गायीका अस्मीता डल्लाकोटी, सिर्जना खत्री(हाउडेमाया), दिपु मगर, विष्णु सिंजाली मगर, संगिता चितौरेको प्रस्तुति रहेको थियो । दोहोरी गित प्रतियोगिता अन्तरगत राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, पाल्पा र दोहोरी गित प्रतिष्ठान, दाङकावीच प्रतिस्प्रर्धा भएको छ । जसमा पाल्पा विजयी भएको छ ।
सोमवार सांस्कृतिक कार्यक्रमतर्फ चर्चित लोकदोहोरी गायक खेम सेञ्चुरी, गायीका एवं प्रस्तोता मञ्जु पौडेल, बसन्त लम्साल, मञ्जु भट्टराई तथा हास्य कलाकार पुर्खे बाको प्रस्तुति रहने छ । दोहोरी गित प्रतियोगिता अन्तरगत राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, लुम्बिनी प्रदेश र खस्यौली रोधि क्लब प्रा.लि. बुटवलकावीच प्रतिस्पर्धा हुनेछ । डान्स आइडल २०८० को टप १२ को प्रस्तुति भएको छ ।
सोमवार सार्वजनिक विदाको दिन परेका कारण मेला हेर्ने दर्शकहरुको घुइचो हुने अनुमान गरी सोही अनुसारको तयारी गरिएको मेला प्रबन्धक सरोज पोखरेलले बताए ।
मेलामा ६ सयभन्दा वढी स्टल रहेका छन् । जसमा होटल तथा रेष्टुरेन्ट, उनी, गार्मेन्ट तथा तयारी पोशाक, अन्तराष्ट्रिय स्टल, कृषि, ब्याग,जुत्ताचप्पल, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनी, श्रृंगार, उपहार तथा खेलौना, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान रहेका छन् ।
त्यसैगरि बैंक,  वित्तिय संस्था एवं शैक्षिक संस्थाहरु, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, आइसक्रिम तथा वेकरीज, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस र औषधिजन्य पदार्थ तथा कृषिउत्पादन स्टल रहेका छन् ।