२०८१ श्रावण १२

सगरहवा मूर्ति कार्यशाला सकियो, १८ वटा मूर्ति तयार
  • लुम्बिनी खोज
  • २०८० माघ ८, सोमबार १६:४० गते

लुम्बिनी, ८ माघ ।
कपिलबस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा पुस २३ गतेदेखि शुरु भएको प्रथम कपिलबस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सकिएको छ । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, पर्यटन डिभिजन कार्यलय लुम्बिनी प्रदेश रुपन्देही सहित स्थानीय संघसंस्थाहरुको आयोजनामा कार्यशाला १५ दिनका दिन एक समारोहका विच समापन गरिएको हो ।

राष्ट्रिय स्तरमा ख्याती प्राप्त १५ जना मूर्तिकार र १५ जना सहयोगी मूर्तिकाहरुले सगरहवासँग सम्बन्धित बिषयमा रहेर १८ वटा मूर्ति तयार पारेका छन् । कार्यशाला समापनमा बोल्दै राष्ट्रियसभा सदस्य बिमला घिमिरेले लुम्बिनी विकास कोषले कपिलबस्तुको विकासमा वेवास्ता गरेको जनस्तरमा गुनासो भइरहेको बेला सगरहवाको ऐतिहासिकता ढुंगामा कुँदेर सम्बोधन गरेको बताईन । उनले कपिलबस्तु खुल्ला संग्रालयका रुपमा रहेको तर यहाँको बुद्धकालिन स्थलहरुको प्रचार प्रसार र विकास हुन नसकेको बताईन । यस्तै प्रदेशसभा सदस्य एंव पूर्वमन्त्री विष्णु पन्थीले सगरहवाको ऐतिहासिकता, पुरातात्विक महत्व बुझाउन र जगदीशपुर क्षेत्रलाई पर्यटन प्रवद्र्धनमा कासेढुंगा सावित हुने बताए । सांसद पन्थीले सगरहवामा भएको कार्यशालाको देशभरी प्रचार भएको बताउँदै यो कार्यशाला कसैका लागि नभई सिंगो कपिलबस्तुबासीका लागि भएको बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपती नारदमणि हार्तम्छालीले कपिलबस्तुमा सञ्चालित मूर्तिकार्यशाला प्राज्ञिक, साँस्कृतिक प्र्राविधिक र ऐतिहासिक काम भएको बताए । उनले सर्जकहरुले निकै मेहनतका साथ सगरहवाको ऐतिहासिक र यहाँको कथालाई मूर्तिमा उतार्ने काम गरेको बताए । उनले यस्ता कला र प्राज्ञिक कामका लागि प्रदेश र स्थानीय तहमा पनि प्रज्ञा प्रतिष्ठानहरु स्थापना गर्न आग्रह गरे ।
कार्यक्रममा कार्यशाला निर्देशक समितिका संयोजक एंव लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले सगरहवाको पुरातात्विक स्थलको ऐतिहासिकता उजागर गर्न र यहाँको पर्यटन प्रवद्र्धनका लागि जनतासँग मिलेर पहिलोपटक नयाँ मोडेलमा काम गरेको बताए । उनले ठेक्कापट्टाबाट गरिने कामले जनतालाई जोड्न नसकिने बताउँदै ओझेलमा परेको सगरहवाको ऐतिहासिकता र महत्व अब मूर्ति मार्फत आम नागरिकले बुझ्न पाउने बताए ।
उनले मूर्तिकार्यशालाबाट तयार भएका मूर्तिहरुको दीगो संरक्षण र व्यवस्थापनका लागि स्थानीय समुदायविच एकता र सहकार्य आवश्यक रहेको बताए ।
त्यसैगरी कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले कुनै बेला आफु लुम्बिनी विकास कोषले कपिलबस्तुलाई हेरेन भनेर देशभरी साईकल यात्रा गरेको स्मरण गर्दै अहिले कार्यशाला गरेर कोषले कामको शुरुवात गरेको बताए । उनले मूर्ति बन्ने वितिकै पर्यटकहरुको ओइरो लाग्ने नभई कामको शुरुवात भएकाले सबै मिलेर अगाडि बढनुपर्नेमा जोड दिए । नगरप्रमुख पौडेलले अब कपिलबस्तुका बुद्धिष्ट साईटहरुको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभाग प्रम्रख दिनेश्वर महतो, विज्ञ समितिका संयोजक पोमनारायण पौडेल, कार्यशाला सचिवालय सदस्य ललित गुरुङ, कुमारी बैंकका क्षेत्रिय प्रबन्धक राममनि अधिकारी, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका ल्ुम्बिनी प्रदेश डेपुटी प्रबन्धक ज्ञानेन्द्र पन्त, दामोदर सापकोटा लगायतले बोल्दै कार्यशाला सफलतापूर्वक सम्पन्न भएको बताए ।
कार्यशाला समापनमा मूर्तिकार, कार्यशालाका लागि सहयोग गरेका विभिन्न संस्था, नेपाल पत्रकार महासंघ कपिलबस्तु, विभिन्न स्थानीय आमा समूह, होमस्टे, उपसमिति, स्थानीय जनप्रतिनिधि र विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । उक्त अवसरमा कार्यशालामा मूर्तिकारहरुको खर्च लुम्बिनी विकास कोषका तर्फबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मार्फत भुक्तानीका लागि २६ लाख २५ हजारको चेक कार्यक्रममै प्रदान गरिएको थियो । प्राचिन कपिलबस्तु राज्यको पतनको मुख्य कारण मानिएको सगहरवामा शाक्यहरुको सामूहित नरंसहारको घटनालाई प्रस्तरमा उतार्नका लागि कार्यशाला गरिएको थियो ।
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ कि.मी. र तिलौराकोटवाट ६ कि.मी. उत्तरमा रहेको छ भने पूर्व पश्चिम राजमार्गको बनगाईबाट ७ किमी तथा नेपालको दोस्रो पंक्षी आरक्ष जगदिशपुर तालको दक्षिणमा रहेको छ । सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौं स्तुुपहरूको निर्माण गरेको चीनियाँ यात्री हुुयन् साङ्को सन् ६३६ को यात्रा बृतान्तमा उल्लेख गरिएको पाइन्छ । सन् १८९७ मा डा. फुुरर्हरद्वारा गरिएको उत्खनन् तथा अन्वेषणमा शाक्य सेनाहरुको सम्झनामा १७ वटा निर्माण गरिएका ठूूलो वर्गाकार स्तुुपहरु र धेरै संख्यामा साना स्तुुप भेटिएको थियो । स्तुुपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामाग्री प्राप्त भएका थिए । जगदिशपुर तालको काखैमा रहेको लम्बु सागर रुपमा परिचित सगरहवा ५८ विघा क्षेत्रफलमा फैलिएको छ ।