२०८१ असार १०

बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण
  • लुम्बिनी खोज
  • २०८० माघ १४, आईतवार ०८:१० गते

 

बुटवल १४ माघ ।
बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।
बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा वडा नं १५ नवरत्न मावि नजिकैको भवनमा ३ दिने अभियान शुरु भएको हो।

अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरुको बन्ध्याकरणले कुकुरको संख्या वृद्धि रोकिने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बताए। उनले कुकुर पाल्नेहरुले सार्वजनिक स्थलमा दिसापिसाब गराएमा कारबाही गर्ने जानकारी दिए।
बुटवलमा सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरुको संख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले बुटवलका १९ वटै वडाका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने बताए। बन्ध्याकरणपछि बुटवलमा सामुदायिक कुकुरहरुको संख्या वृद्धि रोकिने उनले बताए। पशुपंक्षी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडेले ३ दिनसम्म चल्ने कार्यक्रममा बुटवलका सबै वडाहरुबाट कुकुर संकलन गरि तीनको बन्ध्याकरण गरिने बताए।
यसपटक वडा नम्बर १५ मा शुरु भएको अभियानमा बुटवलका सबै क्षेत्रका कुकुरहरु लगेर बन्ध्याकरण गर्ने उनले बताए। हरेक वर्ष बुटवल उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको संख्या वृद्धि हुन नदिन बन्ध्याकरण र रेबिज रोग फैलिन नदिन रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।