२०८१ श्रावण १२

सामुदायिक विद्यालयका सफल अभ्यासको आदान प्रदान
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ७, सोमबार १०:४२ गते

बुटवल, ७ फागुन ।
सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले रूपन्देही, कपिलवस्तु र बर्दघाट सुस्ता पश्चिम नवलपरासी जिल्लाका सामुदायिक विद्यालयका सफल अभ्यासको आदान प्रदान कार्यक्रम गरेको छ ।
सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका निमित्त सचिव थानेश्वर ज्ञवालीको अध्यक्षतामा शाखा अधिकृत विष्णुप्रसाद भुसालको सञ्चालनमा बुटवलमा आयोजित कार्यक्रममा रुपन्देही जिल्लाबाट कालिका मानव ज्ञान मा.वि., नवीन औद्योगिक कदर बहादुर रीता मा.वि., कान्ति मा.वि., शान्तिमा नमुना मा.वि., पब्लिक मा.वि. सैनामैना मा.वि., रूपन्देही लिलाराम न्यौपाने मा.वि., केरवानी मा.वि., नवलपरासी पश्चिमबाट त्रिवेणी आधारभूत विद्यालय, महाकवि देवकोटा मा.वि., रमवापुर मा.वि., पवन मा.वि., कपिलवस्तुबाट जनता मा.वि. लगायत ३१ वटा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूले आआफ्ना विद्यालयका असल अभ्यासहरू साझेदारी गरेका थिए । नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतका अनुसार उक्त अवसरमा सामाजिक विकास मन्त्रालयका उपसचिव दिवाकर भण्डारीले सहजीकरण गरेका थिए ।कार्यक्रममा सामाजिक विकास मन्त्रालयका पूर्व उपसचिव मनोज कुमार गैरेले नेपालमा शिक्षाको क्षेत्रमा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश क्रमश उत्कृष्ट रहेको र लुम्बिनी प्रदेशमा धेरै विद्यालयले सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षा तालिम केन्द्रका प्रमुख हरिलाल अर्याल, सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीका कार्यालय प्रमुख हरि बहादुर बिष्ट, भानु मा.वि.का प्रधानाध्यापक मोतिलाल सुवेदी, त्रिवेणी आधारभूत विद्यालयका प्रधानाध्यापक मथुरा प्रसाद यादव लगायतले धारणा राखेका थिए।कार्यक्रममा लामो समयसम्म शिक्षा क्षेत्रमा रही मङ्सिरमा सेवा निवृत पूर्व उपसचिव मनोज कुमार गैरेलाई विदाई समेत गरिएको नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए।नेपालका पालिकाहरूमध्ये लुम्बिनी प्रदेशको ठाकुरबाबा नगरपालिकाले शिक्षामा ४२ प्रतिशत बजेट विनियोजन गरेर उल्लेखनीय कार्य गरेकोमा उच्च प्रशंसा भएको थियो ।
राष्ट्रिय योजना आयोगले २०७८ मा नेपालका सात वटा सामुदायिक विद्यालयहरूका असल अभ्यासहरू सङ्कलन गरी पाँच वटा सूचकहरूलाई आधार मानेर अध्ययन गरेको थियो । जसमा विद्यालय सुधार योजना, विद्यालयको सुशासन, भौतिक पूर्वाधार, पठनपाठन र सिकाई उपलब्धि र नवप्रवर्तनलाई आधार मानेर सार्वजनिक गरेको थियो ।
जसमा एक वर्षीय विद्यालय सुधार योजना कक्षागत विद्यार्थी प्रोफाइल निर्माण सिकाई उपलब्धि वृद्धि गर्ने, विद्यालय छाड्ने दर घटाउने, उत्तीर्ण प्रतिशत शत प्रतिशत गराउने, विद्यार्थी नियमिततामा जोड दिने, शिक्षक र विद्यार्थीलाई प्रविधिमैत्री तालिम दिने, शिक्षक विद्यार्थी नियमितताको पुरस्कार, विषयगत शिक्षकको व्यवस्था, अतिरिक्त क्रियाकलाप, व्यवहारिक र जीवनपयोगी शिक्षा सञ्चालन, विद्यार्थीको रुचि, क्षमता अनुसारको क्रियाकलाप, कम्प्युटर प्रयोगशाला व्यवस्थित बनाउने, खानेपानी तथा सुधार अवलोकन भ्रमण, चेतनामूलक कार्यक्रम, विपद व्यवस्थापनका जोखिमबाट बच्ने उपायहरूलाई एक वर्षीय योजनामा समावेश गरेको थियो । विद्यार्थीहरूको पढाइ सहजीकरण गर्न अभिभावकलाई तालिम, संगीत, खेलकुद र अतिरिक्त क्रियाकलापलाई व्यवस्थित गर्न विद्यालयमा विद्यार्थी प्रतिभाको खोजी, उत्कृष्ट शिक्षक विद्यार्थी पुरस्कृत, विद्यालयका शैक्षिक ,भौतिक, आर्थिक र व्यवस्थापकीय कार्यहरूको व्यवस्थापन, पठनपाठन र सिकाइमा विद्यार्थीमैत्री सक्षम शिक्षक, कक्षा कोठामा आइसिटीको प्रयोग, प्रविधिमा आधारित सिकाई कक्षा कोठामा पर्याप्त शैक्षिक सामग्रीको उपलब्धता, शिक्षक तालिमको व्यवस्था, कक्षागत रुपमा अभिभावकसँग अन्तरक्रिया, विद्यार्थीलाई परियोजना कार्यमा जोड, भौतिक पूर्वाधारमा विद्यालयको आफ्नै पर्याप्त जग्गा जमिन, पर्याप्त भवन र फराकिलो कक्षा कोठा, एउटा बेन्चमा दुईजना मात्र बसेर पढ्ने वातावरण, फर्निचरको राम्रो व्यवस्था, खानेपानी र छात्राका लागि छुट्टै शौचालयको व्यवस्था, रिडिङ कर्नर, शौचालयमा सेनेटरी प्याडको व्यवस्था, बगैँचा, करेसाबारी, विद्यालय सुशासनमा शिक्षक विद्यार्थी र अभिभावकलाई छुट्टै आचारसंहिता, विद्यालयको हरेक कार्यक्रममा वडाको सहभागिता, विद्यालयका सामग्री खरिद गर्दा खरिद समिति गठन, चेक मार्फत आर्थिक कारोबार, समयमै सामाजिक परीक्षण र लेखा परीक्षण गरी पर्याप्त नतिजामा क्रमिक सुधार, उजुरी पेटीका र गुनासो सुनाई व्यवस्था, शिक्षक समयमा कक्षा कोठामा गए नगएको रेकर्डको लागि विद्यार्थीलाई लगबुकको उपलब्धता लगायत रहेका थिए ।