२०८१ आश्विन ४

ब्यापार संघद्वारा सहयोग हस्तान्तरण
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ३०, बुधबार १६:०५ गते

बुटवल, ३० जेठ ।
रुपन्देही व्यापार संघले आफ्ना सदस्य व्यवसायीको पसलमा आगलागी भई क्षति पुगेको अवस्थामा राहात स्वरुप नगद प्रदान गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ६ ज्योति पथ स्थित आर्दश सर्जिकलमा केही दिन अघि भएको आगलागीबाट करोडौंको क्षति पुगेको थियो । संघले एक कार्यक्रमको आयोजना गरी बुटवल ज्योतिपथ स्थित आर्दश सर्जिकलमा पुगी संघका सर्जिकल वस्तुगत उपसमितिका संयोजक दिपक खनाललाई रु.१ लाख ११ हजार १ सय ११ को चेक प्रदान गरिएको हो । सो चेक संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले प्रोप्राइटर दिपक खनाललाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले संघ सधै व्यवसायीहरुको पिडामा साथ रहने र व्यवसायीहरुलाई पर्ने समस्यामा सहयोगी बन्ने गरेको उल्लेख गर्दै व्यवसायीको समस्यामा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गर्दै आएको र आकस्मिक रुपमा हुने समस्याहरुमा संघ अभिभावक भएर काम गर्ने बताए । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य एवं औषधि सर्जिकल वस्तुगत उपसमितिको उपस्थिति रहेको थियो । संघले आगलागी, चोरी जस्ता घटना भएका व्यवसायिक प्रतिष्ठानलाई प्रदान गर्ने उद्देश्यले व्यावसायिक कल्याणकारी कोष स्थापना गरी विगतदेखि नै सहयोग गर्दै आइरहेको छ ।