२०८३ मंसिर ६
भरतपुरमा दुईदिने कार्यशाला सुरु, ४० सामुदायिक विद्यालयका प्रधानाध्यापक सहभागी
भरतपुर, ४ मंसिर ।
विज्ञान विषय प्रवर्धनका लागि विद्यालय विकास योजना कार्यान्वयनको अवस्था समीक्षा तथा असल अभ्यास आदानप्रदान गर्न लुम्बिनी, गण्डकी र बागमती प्रदेशका सामुदायिक विद्यालयहरूको दुईदिने कार्यशाला शुक्रबार भरतपुरस्थित नारायणी नमुना माध्यमिक विद्यालयमा सुरु भएको छ ।
कार्यशालामा एसियाली विकास बैंकका परामर्शदाता डा. प्रमोद भट्टले विज्ञान विषय प्रवर्धन कार्यक्रम लागू भएका विद्यालयहरूको प्रगति समीक्षा, असल अभ्यास आदानप्रदान, आर्थिक वर्ष २०८४/८५ सम्म सञ्चालन गरिने प्रमुख कार्यक्रम, बजेट विनियोजन तथा कार्यक्रम पहिचानका विषयमा प्रस्तुति दिएका थिए । उनले कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौती तथा समाधानका उपायबारे पनि छलफल गराएका थिए ।
शिक्षा विभागका निर्देशक तथा सूचना अधिकारी नीमप्रकाश सिंह राठौरले पहाडी क्षेत्रबाट दिनप्रतिदिन बढिरहेको बसाइँसराइले विद्यालयमा विद्यार्थी संख्या घट्ने समस्या देखिएको बताए । सहर तथा तराई क्षेत्रमा भौतिक पूर्वाधार र विद्यार्थी संख्या बढाउन सक्ने सम्भावना भएका विद्यालयलाई लक्षित गरी ‘बिग स्कुल’ तथा दुई हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयको अवधारणा अघि सारिएको उनले उल्लेख गरे ।
नेपालमा हाल विज्ञान विषयको पठनपाठन हुने सामुदायिक विद्यालय ४१६ र निजी विद्यालय ४८१ गरी जम्मा ८९७ वटा छन् । प्राविधिक धारतर्फ अध्यापन हुने सामुदायिक विद्यालयको संख्या ५२६ रहेको छ भने विज्ञान समूह र प्राविधिक धार दुवैको पठनपाठन हुने विद्यालय १३५ वटा छन् । विज्ञान विषय प्रवर्धन कार्यक्रममा देशभरका १०९ सामुदायिक विद्यालय सहभागी छन् ।
प्रदेशगत रूपमा विज्ञान विषय अध्यापन हुने विद्यालयमध्ये बागमतीमा ७३, लुम्बिनीमा ६८ र गण्डकीमा ९६ वटा रहेका छन् ।
कार्यशालामा रूपन्देहीबाट नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय बुटवलका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवाली, कान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली र शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकनाथ कँडेल सहभागी छन् ।
४० वटा सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक सहभागी कार्यशालामा एसियाली विकास बैंकका वरिष्ठ शिक्षा विशेषज्ञ जियान सुको समेत उपस्थिति रहेको छ ।
शिक्षा विभागका निर्देशक नीमप्रकाश सिंह राठौरको अध्यक्षतामा सुरु भएको कार्यशालाको सञ्चालन विभागकी शाखा अधिकृत शान्ति बिष्टले गरेकी थिइन् । नारायणी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।




