२०८१ आश्विन ६

डेल्टा एजुकेशन मार्ट १६ गतेबाट आंशिक सञ्चालनमा आउने
  • लुम्बिनी खोज
  • २०८१ असार १०, सोमबार १६:२२ गते

आगलागीबाट झण्डै ४५ करोडको क्षती भएको अनुमान

बुटवल १० असार ।
आगलागिबाट पूर्ण क्षती भएको बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा एजुकेशन मार्ट प्रा.लि. पुनः सञ्चालनमा आउने भएको छ । यहि असार १६ गतेदेखि आंशिक रुपमा पुनः सञ्चालन गर्ने तयारी गरिएको सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
डेल्टा एजुकेशन मार्ट प्रा.लि.का अध्यक्ष लोकनाथ उपाध्यायले मार्टले प्रदान गर्दै आएको सेवा कम्पाउण्ड भित्रै रहेको गोदाम घरमा सञ्चालन गर्ने तयारी गरिएको जानकारी गराए ।
तत्कालको लागि डेल्टा एजुकेशन मार्टले प्रदान गरेका सेवा पुस्तक, कापी, विद्यालय तथा कलेजका पोशाक दिनेगरी मार्ट सञ्चालन गर्न लागिएको छ । डेल्टा कम्प्लेक्समा रहेका अन्नपूर्ण हाईपर मार्केट, नेपाली लुगा घर र नेपाल जुक्ता घरका पसलहरु क्रमशः दशैंसम्ममा पुनः सञ्चालन गर्ने गरी लागि परेको सञ्चालक गणेशचन्द्र पोखरेलले बताए।
बुटवलको मिलनचोकमा रहेको डेल्टा एजुकेशन मार्टमा यहि असारको ६ गते साझ भएको आगलागिबाट डेल्टा एजुकेशन मार्ट सहित त्यस भवनमा रहेका विभिन्न दर्जन भन्दा पनि बढी कम्पनीका विक्रि केन्द्रका सामान जलेर नष्ट भएका थिए ।
आगलागिबाट भएको क्षतीको विस्तृत विवरण संकलनको काम भइरहेको जानकारी गराउँदै सञ्चालक चोलाप्रसाद पाठकले कम्तिमा ४४ देखि ४५ करोड रुपैंयाको क्षती भएको प्रारम्भिक अनुमान गरिएको जानकारी गराए ।
यहा गत बिहीबार साँझ करिब साढे ६ बजेदेखि भएको आगलागी शुक्रबार नियन्त्रणमा लिइएको थियो । शुक्रवार बिहान सम्म १० वटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक मनोहरप्रसाद भट्टका अनुसार २ वटा दमकल शुक्रवार दिउसो पौने १२ बजेसम्म नै आगो निभाउन प्रयोग गरिएको थियो ।
कम्प्लेक्समा स्टेसनरी, केही विद्यालयका तयारी पोसाक, काँचो र तयारी कपडा पसल, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, नेपाली जुत्ता घर र खाद्यान्नको व्यवसाय सञ्चालनमा थिए । नेपाली जुत्ता घरमा विभिन्न जुत्ता उत्पादक कम्पनीका जुत्ता तथा चप्पलको विक्रि पसलहरु रहेका थिए ।
आगलागी नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकासहित रुपन्देहीका विभिन्न पालिका, नवलपरासी र कपिलवस्तुका विभिन्न पालिकाका दमकल तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायतका १० जटा दमकल परिचालन गरिएको थियो।
बुटवलमा मुख्य राजमार्गसगै जोडिएको डेल्टामा आगो नियन्त्रणका लागि समयमै दमकलहरु नपुगेको गुनासो स्थानियले गरे थिए ।