२०८१ आश्विन ६

एसइईको नतिजा सार्वजनिक
  • लुम्बिनी खोज
  • २०८१ असार १३, बिहीबार ०६:४२ गते

काठमाण्डौं १३ असार ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज बिहिवार सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यसपटक परीक्षामा सामेल भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

यसमध्ये १८६ जनाले ४ जीपीए प्राप्त गरेका छन्। परीक्षामा सहभागी भएकामध्ये संख्याको हिसाबमा २ लाख ४२ हजार ९२ जना उत्तीर्ण भएका छन्। अर्थात् यी विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन्। परीक्षामा सहभागी मध्ये ५२.१४ प्रतिशत ले ननग्रेड (एनजी) ल्याएको बोर्डले जनाएको छ ।बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।
७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६।२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।

१५ चैतदेखि २७ चैतसम्म सञ्चालन भएको एसइई परीक्षामा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको १६०० मा कल गरेर, एसएम एस गरेर तथा वेबसाइटमार्फत पनि थाहा पाउन सकिनेछ ।