२०८१ कार्तिक २

नवीनमा एन्फाद्धारा छनौट फुटवल खेलाडी विद्यार्थीहरुलाई अभिमुखीकरण
  • लुम्बिनी खोज
  • २०८१ असार २४, सोमबार १०:४४ गते

बुटवल, २४ असार ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा नेपाल भरीबाट छनौट भएका फुटवल खेलाडी विद्यार्थीहरुलाई सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर के.सी (कुमार) ले विद्यालयले सानो कक्षा देखि नै व्यावहारिक ज्ञान प्रदान गरेर विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व विकासमा प्राथमिकता दिएकोमा विद्यालयको प्रणाली प्रति आफु पूर्ण सन्तुष्ट भएको बताए । विद्यालयले एन्फाका प्रस्तावहरुलाई सहर्ष स्वीकार गरेकोमा खुशी व्यक्त गर्दै उनले विद्यालयलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा खेलबाट विद्यार्थीहरुले पहिचान गराउने प्रतिवद्वता व्यक्त गरे । खेलाडीहरु आफैमा अनुशासित हुने र अध्ययनमा पनि राम्रो गर्ने भएकोले सबै विद्यार्थीहरुले विद्यालयको आचारसंहिता पालना गर्नु पर्ने धारणा उपाध्यक्ष केसीले ब्यक्त गरे ।
रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष एवं तिलोत्तमा नगर खेलकुद विकास समितिका संयोजक लोक पुनले विद्यालयले पठनपाठन र खेलकुदलाई सन्तुलनमा व्यवस्थित गराएर अगुवाई गरेको भन्दै खुशी व्यक्त गरे ।
अखिल नेपाल फुटबल संघले फुटबल खेलमा १३ वर्ष उमेर मुनिका खेलाडीहरु राष्ट्रिय रुपमा छनौट गरी खेलाडी उत्पादन गर्ने योजना अनुसार नेपाल भरीबाट छनौट गरी धरान, मकवानपुरको सिर्सैया र रुपन्देहीमा बुटवलको एन्फा एकेडेमीमा पठाइएको छ । १४ वटा जिल्लाबाट पच्चिस जना छनौट गरी आवासीय सुविधा सहित प्रशिक्षण र पठनपाठनको जिम्मेवारी रुपन्देही जिल्ला फुटवल संघलाई दिइएको छ । यहा बुटवल उपमहानगरपालिकाले पनि फुटबल खेलको प्रवद्र्धन गर्न विद्यालय तहबाट खेलाडी उत्पादन गर्न, विकास र विस्तार गरी खेलमा दुरगामी प्रभाव पार्ने महत्वपूर्ण नीति ल्याएको छ ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत देशका सबै पालिकाहरुले पनि अनुकरण गर्न योग्य सराहनीय नीति बुटवलले ल्याएको बताउछन् । जस अन्तरगत तेह« वर्ष मुनिका बुटवलमा स्थायी बसोबास भएका र बुटवलका विद्यालयहरुमा अध्ययनरत ५ जना विद्यार्थी छनौट गरी आवासीय सुविधा, प्रशिक्षण र पठनपाठनको व्यवस्थापन गर्ने जिम्मेवारी रुपन्देही जिल्ला फुटवल संघलाई दिएको छ ।
जस अन्तरगत रुपन्देही जिल्लाबाट बुटवल उपमहानगरपालिका सहित ६ जना, कास्की, स्याङ्जा, ललितपुर र सुर्खेतबाट तीन तीन जना, कैलाली, पर्वत र पूर्वी नवलपरासीबाट दुई दुई जना, वाग्लुङ, पाल्पा, जुम्ला, कञ्चनपुर, बाजुरा र कपिलवस्तुका एक एक गरी जम्मा तीस जना रहेका छन् । खेलाडी विद्यार्थीहरु कक्षा ६ मा पढ्ने एक जना, कक्षा ७ मा ६ जना, कक्षा ८ मा १० जना, कक्षा ९ मा ११ जना र कक्षा १० मा २ जना अध्ययनरत छन् । विभिन्न परिवेश र जिल्लाबाट आएका छात्र खेलाडी विद्यार्थीहरुलाई खेलकुद प्रशिक्षण, आवासीय वसोवास, पठनपाठन विद्यालयका आचार संहिता, अनुशासनका बारेमा अभिमुखिकरण गरिएको छ । त्यस्तै बुटवल उपमहानगरपालिकाको र अखिल नेपाल फुटबल संघको खेलाडी प्रति गरेको लगानीको सही सदुपयोग, नतिजामुखी र अरुले पनि गर्व गर्ने खालको समग्र कार्य सम्पादन आवश्यक महशुस गरी विद्यालयले खेलाडी विद्यार्थी अभिमुखिकरण कार्यक्रम गरेको जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा कक्षा ६ ए का विद्यार्थी विश्व खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष एवं एन्फा एकेडेमी बुटवलका डाइरेक्टर बुद्धि बहादुर गुरुङ, विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज लक्ष्मण भुसाल सहभागी विद्यार्थीको तर्फबाट विद्यार्थी खेलाडी विशाल रजक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।