२०८३ आश्विन २२

बुटवल उद्योग वाणिज्य संघमा टंकप्रसाद गैरेको प्यानल सार्वजनिक
  • लुम्बिनी खोज
  • २०८३ आश्विन २२, बिहीबार १४:३३ गते

१० बुँदे प्रतिबद्धता, उद्योगी–व्यवसायीको सुरक्षा, लगानी प्रवर्द्धन र समृद्ध बुटवललाई प्राथमिकता

बुटवल, २१ असोज ।

बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि अध्यक्षका उम्मेदवार टंकप्रसाद गैरे नेतृत्वको प्यानलले उम्मेदवार सार्वजनिक गर्दै उद्योगी–व्यवसायीको हकहित संरक्षण, लगानीमैत्री वातावरण निर्माण र बुटवलको आर्थिक विकासलाई प्राथमिकतामा राखेको छ।

‘परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध बुटवलको साझा प्रतिबद्धता’ भन्ने नारासहित सार्वजनिक गरिएको प्यानलले संघको नेतृत्वमा संयुक्त तथा समावेशी सहभागिता, व्यवसायमैत्री नीति, उद्योगको सुरक्षा र आधुनिक व्यवसाय प्रवर्द्धनलाई प्रमुख एजेण्डा बनाएको छ। उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार गैरेले सस्थागत विकास तथा व्यवसायीका हितमा आफू संघमा निरन्तर लागि पर्दै आएको उल्लेख गर्दै अव नेतृत्वमा रहेर अझ बढी योगदान दिन उम्मेदवारी दिएको बताए ।

अध्यक्षमा गैरे, वरिष्ठ उपाध्यक्षमा भट्टराई

सार्वजनिक उम्मेदवार सूचीअनुसार अध्यक्षमा टंकप्रसाद गैरे र वरिष्ठ उपाध्यक्षमा विमलराज भट्टराई उम्मेदवार छन्। त्यस्तै, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी र महासचिवमा जमुना पौडेल उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्।

प्यानलमा कोषाध्यक्षमा टीकाराम बन्जाडे, सचिवमा काशीराम शर्मा पौडेल र सहकोषाध्यक्षमा जाकिर हुसेन रहेका छन्।

एशोसिएट सदस्यमा बालकृष्ण पौडेल, उद्योग सदस्यमा दिपक बास्तोला, गोपाल टण्डन, प्रविन्द्र गोविन्द श्रेष्ठ, सुनिता अर्याल, वाणिज्य सदस्यमा मनिषकुमार हयोजु, मिलन कुमार भारी, राजेश भट्टराई, सुनिता गिरी उम्मेदवार रहेका छन् । त्यस्तै खुल्ला सदस्यमा विजयकुमार बर्णवाल, गणेशप्रसाद सेढाई, ज्ञानप्रसाद खनाल, जनक श्रेष्ठ, गोपाल बस्याल, शुशिलप्रसाद श्रेष्ठर ठाकुर घिमिरे उम्मेदवार रहेका छन् ।

१० बुँदे प्रतिबद्धता सार्वजनिक

गैरे नेतृत्वको समूहले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा उद्योगी–व्यवसायीको सम्मान र संरक्षण, व्यवसायमैत्री नीति तथा वातावरण, लगानी र उद्योगको सुरक्षा, बुटवलको पूर्वाधार विकास, बजार विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई प्राथमिकता दिइएको छ।

त्यस्तै, डिजिटल तथा आधुनिक व्यवसाय प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलताको विकास, पर्यटन र स्थानीय अर्थतन्त्रको विस्तार तथा पारदर्शी र परिणाममुखी संस्थागत सञ्चालनलाई पनि प्रतिबद्धतामा समेटिएको छ।

समूहले बुटवललाई उद्योग, व्यापार, सेवा, पर्यटन र उद्यमशीलताको महत्त्वपूर्ण आर्थिक केन्द्रका रूपमा विकास गर्न सरकारसँग प्रभावकारी समन्वय गर्ने जनाएको छ।

नेतृत्वको सोच र कार्यशैली परिवर्तन गर्ने दाबी

प्रतिबद्धतापत्रमा नेतृत्व परिवर्तन मात्र नभई नेतृत्वको सोच, कार्यशैली र परिणाममा परिवर्तन ल्याउने उल्लेख गरिएको छ। आश्वासनभन्दा परिणाम, व्यक्ति केन्द्रितभन्दा संस्थागत र एकल नेतृत्वभन्दा संयुक्त नेतृत्वमा जोड दिँदै उद्योगी–व्यवसायीका समस्या समाधान गर्ने प्रतिबद्धता समूहले व्यक्त गरेको छ।

बढ्दो व्यावसायिक लागत, बजारको मन्दी, अव्यवस्थित पूर्वाधार, नीतिगत अस्पष्टता र अस्वस्थ प्रतिस्पर्धाले व्यवसायी समस्यामा परेको उल्लेख गर्दै समूहले संघलाई व्यवसायीको भरोसायोग्य साथी र आर्थिक विकासको अगुवा संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य अघि सारेको छ।