२०८१ आश्विन ५

राप्रपा जिल्ला अध्यक्षहरूको भेला सुरु
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १७, बिहीबार १०:२४ गते

काठमाडौं १७ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला आज बिहिवारदेखि काठमाडौंमा सुरु भएको छ। राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज धुम्बाराहीस्थित एसआर बैंक्वेटमा उक्त भेलाको उद्घाटन गरे। पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भेलामा ७७ वटै जिल्ला अध्यक्षहरूको सहभागिता रहेको छ । भेला भोलि साउन १८ गतेसम्म चल्ने छ ।
जिल्ला अध्यक्षहरूले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । भेलामा पार्टीको समग्र सांगठनिक अवस्थाको समीक्षा गरिने, विगतका निर्वाचनका कमी–कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने जनाइएको छ । पार्टीले लिएका नीति र यसले पार्टीपंक्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने प्रवक्ता श्रेष्ठले बताए।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएकाले सबै तहको अधिवेशन सम्पन्न गर्ने, साथै ०८४ मा हुने तीन तहकै निर्वाचन तयारीका लागि रणनीति तय गर्ने विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
उक्त भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरूलाई ‘ब्रिफिङ’ गर्नेछन् भने पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, निर्देशन समितिका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी र नेताहरूले पार्टी संगठनका विविध पक्षमा जिल्ला अध्यक्षहरूसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।