२०८३ आश्विन ३०

९ लाखभन्दा बढीका मोबाइल डिस्प्ले र बडी प्यानल बरामद
  • लुम्बिनी खोज
  • २०८३ आश्विन ३०, शुक्रबार १४:३४ गते

लुकाइछिपाइ राखिएका मोबाइलका ४३७ डिस्प्ले र ६ बडी प्यानल भैरहवा भन्सारमा पठाइयो

बुटवल, ३० असोज ।

रुपन्देहीमा प्रहरीले भन्सार छली गरी ल्याइएका ९ लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलका डिस्प्ले तथा बडी प्यानल नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–७, बनरहवाबाट लुकाइछिपाइ राखिएको अवस्थामा उक्त सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी समेत रहेका प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दका अनुसार नियन्त्रणमा लिइएका सामानको अनुमानित मूल्य ९ लाख १८ हजार रुपैयाँ रहेको छ ।

बरामद सामानमा एमआई मोबाइलका १६३ थान डिस्प्ले, रियलमीका ११२ थान, भिभोका ६४ थान, इन्फिनिक्सका ३२ थान, सामसुङका ६४ थान र आइफोनका दुई थान डिस्प्ले रहेका छन् । त्यस्तै, मोबाइलका ६ थान बडी प्यानल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको विवरणअनुसार एमआई डिस्प्लेको अनुमानित मूल्य ३ लाख २६ हजार, रियलमीको २ लाख २४ हजार, भिभोको १ लाख २८ हजार, इन्फिनिक्सको ६४ हजार, सामसुङको १ लाख ६० हजार, आइफोनको १० हजार र मोबाइल बडी प्यानलको ६ हजार रुपैयाँ रहेको छ ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि शुक्रवार भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

सामानको विवरण

एमआई मोबाइल डिस्प्लेः १६३ थान — रु. ३ लाख २६ हजार

रियलमी मोबाइल डिस्प्लेः ११२ थान — रु. २ लाख २४ हजार

भिभो मोबाइल डिस्प्लेः ६४ थान — रु. १ लाख २८ हजार

इन्फिनिक्स मोबाइल डिस्प्लेः ३२ थान — रु. ६४ हजार

सामसुङ मोबाइल डिस्प्लेः ६४ थान — रु. १ लाख ६० हजार

आइफोन मोबाइल डिस्प्लेः २ थान — रु. १० हजार

मोबाइल बडी प्यानलः ६ थान — रु. ६ हजार

जम्मा अनुमानित मूल्यः ९ लाख १८ हजार रुपैयाँ।