२०८१ कार्तिक ७

नवीनमा विज्ञान र प्रविधिः विकास र उत्पादनमा वृद्धि’ विषयक वक्तृत्वकला
  • लुम्बिनी खोज
  • २०८१ आश्विन १, मंगलवार १२:०२ गते

बुटवल १ असोज ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा ‘विज्ञान र प्रविधिः विकास र उत्पादनमा वृद्धि’ विषयक वक्तृत्वकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय रसायन शास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. मोतिलाल शर्माले विद्यार्थीहरूको मेहनत, बुवाआमाको सपना र विद्यालयको परिश्रमबाट नै सफलता प्राप्त गर्न सकिने बताए । उनले प्राकृतिक, सांस्कृतिक, सुन्दर रमणीय देशमा सम्भावनाका क्षेत्रहरू व्यापक रहेकोले हाम्रा पुर्खाहरूको ज्ञान र सीपबाट विद्यार्थीले प्रेरणा लिनुपर्ने बताए ।
भैरहवा बहुमुखी क्याम्पसका उप प्राध्यापक डा. मुक्ति पौडेलले नेपालमा धेरै सम्भावनाहरु भएकोले यस विद्यालयमा विज्ञान विषय पढेर स्वदेशमै आफ्नो दक्षता देखाउनु पर्नेमा जोड दिँदै विज्ञान र प्रविधिको प्रयोग गरी शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन सकिने धारणा व्यक्त गरे ।

बुटवल उपमहानगरपालिका माध्यमिक शिक्षा शाखा प्रमुख उपनिर्देशक टिकाराम पन्थीले विद्यार्थीहरूलाई विज्ञान र प्रविधिको उत्पादन गरी देश निर्माणमा लाग्न सुझाव दिए ।
जीव विज्ञान विषय संयोजक रोशन तिवारीको अध्यक्षतामा कक्षा ११ विज्ञान समूहकी छात्रा एलिजा रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, सहायक प्रधानध्यापक अर्जुन खनाल, विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी, विज्ञान विषय संयोजक कृष्ण बहादुर घर्ती, विद्यार्थी बिना कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त वक्तृत्वकला प्रतियोगितामा कक्षा ९, १०, ११ र १२ का २७ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । वक्तृत्वकला प्रतियोगितामा विज्ञान समूह कक्षा ११ ए कि बिना कुँवर प्रथम, कक्षा नौ वी का आशिष पोखरेल द्वितीय, कक्षा १२ ए की गङ्गा पाण्डे तृतीय र कक्षा ११ वी की अनिषा थापा सान्तवना भएका थिए ।

उक्त निर्णायक मण्डलमा बाबुराम पौडेल, अशोक घिमिरे र प्रेम सागर यादव रहेका थिए । विद्यालयको वार्षिक कार्यतालिका अनुसार गत शुक्रबार सञ्चालित सामाजिक सञ्जालको सदुपयोग विषयक निबन्ध लेखन प्रतियोगितामा कानुन समूह कक्षा १२ मा अध्ययनरत अमृता थापा प्रथम, कानुन समूहकी हविवा खातुन द्वितीय र व्यवस्थापन समूह कक्षा १२ कि भगवती कुँवर तृतीय भएका थिए । वक्तृत्वकला र निबन्ध लेखनमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।