२०८१ आश्विन ४

यूक्रेनको युद्धका कारण यमनमा जारी मानवीय सङ्कट छाँयामा
  • लुम्बिनी खोज
  • २०७८ चैत्र १४, सोमबार ०८:३१ गते

एडेन, यमन। ‘विश्वको सबैभन्दा खराब मानवीय सङ्कट’ रहेको यमनको सङ्कटरूस–यूक्रेन युद्धका कारण छाँयामा परेको संयुक्त राष्ट्र संघले जनाएको छ । यमनमा मानवीय सङ्कट थप बिग्रँदै गएको जनाइएको छ ।

यमनका लागि आर्थिक सहायता जुटाउने संयुक्त राष्ट्रसंघको पछिल्ला प्रयासहरू असफल भएका छन् । राष्ट्रसंघ मार्च १६ मा स्थापित कोषमा चार अर्ब जम्मा गर्ने आँकलन गरेको थियो तर उक्त रकमको एक तिहाइभन्दा कम रकम मात्र सङ्कलन भएपछि यसतर्फ विश्व समुदायले ध्यान दिन जरूरी भएको देखिएको छ ।

“यूक्रेनमा जारी युद्धको कारण यमनमा महँगी दोब्बर भएको छ, विशेष गरी पीठोको मूल्य बढेको छ । पहिले प्याकेट पीठोको करिब २१ देखि २५ डलरसम्म रहेकोमा अहिले उक्त मूल्य बढेर ५० डलर पुगेको छ,” मुस्लिम ह्यान्ड्स नामक गैर–सरकारी संस्थाकी परियोजना अधिकारी साराह शावकीलाई उद्धृत गरी बीबीसीले लेखेको छ । उक्त संस्थाले यमनमा पाँच वटा पाउरोटी उद्योग सञ्चालन गर्दै आएको छ ।

शावकीले भने, “हामीले अहिलेसम्म आधारभूत खाद्यान्न उपलब्ध गराउनका लागि अन्य थुप्रै वस्तुहरूमा कटौती गर्नुपरेको छ ।”

शावकीका अनुसार २५ हजार लाभान्वित धेरैको परिवार दैनिक रूपमा संस्थाले दिएको खाना (रोटी) मा निर्भर छन् । संस्थाले विशेष गरी कमजोर व्यक्ति, अनाथ, अपाङ्गता भएका मानिसहरू र महिलाहरूलाई सहयोग गरिरहेको छ ।

यमन मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रको सबैभन्दा गरिब देश हो जसले करिब ९० प्रतिशत खाद्यान्न आयात गर्छ । विश्व बैंकका अनुसार यमनमा ४० प्रतिशत गहुँ यूक्रेन र रूसबाट पठाइन्छ ।

यमनी सहर एडेनबाट स्थानीय मुस्लिम ह्यान्ड्स सहायता संस्थाका कर्मचारीहरूले मूल्य वृद्धिले उनीहरूको मानवीय सहयोग परियोजनाहरूलाई ठप्प पार्न सक्ने बताए ।

पाँच सन्तानसहितकी एक विधवा एडेनबासी राइधा मेथनाको परिवार परोपकारमा निर्भर छ । उनले भने “म आधारभूत आवश्यकताहरूको अभावबाट गुज्रिरहेकी छु । मसँग निश्चित तलब प्राप्त हुने काम छैन । म र मेरा सन्तानले दिनमा दुई वटा रोटी पाउँछौँ र हामी त्यही खान्छौँ । यदि उनीहरूले रोटी दिन बन्द गरे भने मसँग उपाय छैन ।”एएफपी