२०८२ जेष्ठ २४

अपराध अनुसन्धानलाइ प्रविधि मैत्री बनाउन जरुरीः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ फाल्गुन १८, आईतवार १२:२१ गते

बुटवल, १८ फागुन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधि मैत्री बन्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा भएको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्घाटन सत्रमा उनले अनुसन्धान प्रक्रियालाई अझ परिस्कृत गर्दै नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । प्रहरी गर्ने अध्ययन, अनुसन्धानको काममा प्रविधिलाई जोड्न जरुरी छ । अहिले धेरै अपराध साइबर माध्यमबाट हुन थालेका छन्, तसर्थ अनुसन्धान प्रविधि मैत्री हुनुपर्छ, उनले भने, प्रहरीले अध्ययन, अनुसन्धानको लागि टेक्नोलोजीको प्रयोग बढाउन जरुरी छ ।
लुम्बिनी प्रदेशका छ जिल्लाहरू भारतसँग सीमाना जोडिएको र खुला सीमा भएकाले अपराध अनुसन्धानमा थप चुनौती रहेको भन्दै उनले सीमाबाट अपराधीहरू सजिलै आवतजावत गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । लागू औषध ओसारपसार, साइबर अपराध, सीमा दुरुपयोग र अन्य नवीनतम सुरक्षा चुनौतीहरूको गम्भीर विश्लेषण आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।
गोष्ठीमा नेपाल प्रहरीका उच्च अधिकारीहरू, अपराध अनुसन्धान विशेषज्ञ तथा लुम्बिनी प्रदेश प्रहरीका प्रमुखहरूको उपस्थिति रहेको छ । कार्यक्रममा अपराध अनुसन्धानका चुनौतीहरू, अनुसन्धान प्रविधि र सुरक्षा रणनीतिबारे विस्तृत छलफल गरिनेछ । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवाल, प्रहरी अतिरिक्त महानिरिक्षक कुबेर कडायत, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दानबहादुर कार्की, लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनाल लगायतको बिशेष उपस्थिति थियो ।