२०८३ भाद्र २६
उत्पादनदेखि उपभोक्तासम्म खाद्य पदार्थको गुणस्तर कायम गर्नुपर्नेमा जोड
बुटवल, २६ भदौ ।
खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर कायम गर्न उद्योगी तथा व्यवसायी थप जिम्मेवार बन्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाको आयोजना तथा रूपन्देही उद्योग संघ, बुटवलको सहयोगमा आयोजित ‘खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी उद्योगी तथा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम’मा सहभागीहरूले खाद्य पदार्थको उत्पादनदेखि उपभोक्तासम्म पुग्ने सम्पूर्ण प्रक्रियामा स्वच्छता र गुणस्तर कायम गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाका प्रमुख अनुप हलवाईले खाद्य पदार्थको उत्पादन, प्रशोधन, भण्डारण तथा वितरणका हरेक चरणमा स्वच्छता र गुणस्तरमा ध्यान दिनुपर्ने बताए । खाद्य स्वच्छता र गुणस्तर उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले उद्योगी तथा व्यवसायीले यसमा विशेष जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाइ थियो ।
रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले खाद्य स्वच्छता र गुणस्तर उद्योगको उत्पादनसँग मात्र नभई उपभोक्ताको स्वास्थ्य तथा उद्योगप्रतिको विश्वाससँग समेत प्रत्यक्ष जोडिएको बताए । उद्योगको सफलता उत्पादन र बिक्रीमा मात्र नभई उपभोक्ताले विश्वासका साथ प्रयोग गर्न सक्ने सुरक्षित र गुणस्तरीय उत्पादन दिन सक्नुमा निर्भर रहने उनले उल्लेख गरे ।
खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि सरकारी निकाय र उद्योगीबीच नियमित संवाद, सहकार्य तथा सहजीकरण आवश्यक रहेको अध्यक्ष पराजुलीले बताए । यस्ता अन्तरक्रियाले उद्योगीलाई नीति, मापदण्ड तथा आवश्यक प्रक्रियाबारे स्पष्ट जानकारी दिनुका साथै उद्योग र नियामक निकायबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनले उल्लेख गरे ।
संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीका अनुसार कार्यक्रममा खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । पहिलो कार्यपत्रमा खाद्य निरीक्षण अधिकारी गौरी हमालले खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित मापदण्ड, अपनाउनुपर्ने सावधानी तथा उद्योगीको भूमिकाबारे जानकारी गराएकी थिइन् ।
त्यसैगरी दोस्रो कार्यपत्रमा खाद्य अनुमतिपत्रको अनलाइन प्रणालीबारे जानकारी दिइएको थियो । खाद्य निरीक्षण अधिकारी प्रकाश भण्डारी तथा कम्प्युटर अपरेटर अनुप अधिकारीले अनलाइनमार्फत खाद्य अनुमतिपत्र लिन सकिने प्रक्रिया, आवश्यक विवरण तथा प्रणालीको प्रयोगबारे सहभागीलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागी उद्योगी तथा सरोकारवालाले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड, खाद्य अनुमतिपत्रको प्रक्रिया तथा अनलाइन प्रणालीका विषयमा विभिन्न जिज्ञासा राखेका थिए । सहभागीका जिज्ञासालाई सम्बन्धित अधिकारीहरूले आवश्यक जानकारी तथा सहजीकरणसहित सम्बोधन गरेका थिए ।
उद्योगीलाई खाद्य स्वच्छता, गुणस्तर तथा अनुमतिपत्रसम्बन्धी आवश्यक प्राविधिक जानकारी उपलब्ध गराउँदै उपभोक्ताको स्वास्थ्य संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ । कार्यक्रममा रूपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्री, द्वितीय उपाध्यक्ष युवराज आचार्य, कोषाध्यक्ष विशाल बेलबासे तथा कार्यसमिति सदस्य यादव गैरे, दिलु शाही र रमेश आचार्यलगायत ४५ जना उद्योगी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन रूपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले गरेका थिए ।
