२०८२ असार १६

बुटवलमा एमालेद्धारा जनसभाको तयारी
  • लुम्बिनी खोज
  • २०८१ चैत्र २६, मंगलवार ११:५३ गते

बुटवल, २६ चैत ।
नेकपा (एमाले) ले चैत २९ गते शुक्रबार बुटवलमा आयोजना गर्न लागेको जनसभामा ५० हजार जनता उतार्ने भएको छ ।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले पछिल्ला दिनमा लोकतन्त्रविरोधी गतिविधि हुन थालेको भन्दै त्यसका विरुद्ध जनतालाई जागरूक बनाउने मुख्य उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको बताए । “सरकारले थुप्रै राम्रा कामहरु गर्दा पनि केही भएन भनेर भाष्य स्थापित गर्न खोजिएको र सामाजिक सञ्जालमा दलहरुप्रति नै वितृष्णा फैलाउने गरी सुनियोजित प्रचार भैरहेको भन्दै यसलाई चिर्न पनि जनसभा आयोजना गरिएको हो”–उनले भने ।
अध्यक्ष गैरेले भने, “चैत २९ गतेको जनसभाको अन्तिम तयारी पूरा भइसकेको छ । यो मूलतः हामीले लक्षित गरेको जनसमूहलाई उपस्थित गराएर जनतालाई जागरण गर्ने कार्यक्रम हो ।”
उनले जनसभामा ५० हजार कार्यकर्तालाई सडकमा उतार्ने योजना रहेको बताए । उनले भने, “त्यसका लागि रुपन्देहीका १६ वटै पालिका कमिटी, वडा कमिटी, जनसंगठनको बैठक गरेर पार्टीले आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गर्ने योजना छ । ५० हजार मानिसलाई सडकमा उतार्ने गरी कार्ययोजना अगाडि बढाएका छौँ ।”
एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेका अनुसार पार्टीको सम्पूर्ण शक्ति परिचालन गरी जनसभामा केन्द्रित गरिएको जानकारी दिए । एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जनसभा सफल पार्न प्रचार संयन्त्रलाई प्रभावकारी र व्यवस्थित ढंगले परिचालन गरिएको बताए । “एमालेले लिएको नीति, कार्यक्रम र योजना राम्रा हुँदाहुँदै पनि नागरिकमा योजनावद्ध भ्रम फैलाएर पार्टीलाई कमजोर पार्न सकिन्छ कि भनेर केही स्वार्थ समूह लागेका छन्, यसविरुद्ध पनि जनसभाले सन्देश दिने छ”–उनले भने ।

एमाले रुपन्देहीका सचिव चित्रबहादुर कार्कीका अनुसार बुटवल मण्डपमा आयोजना हुने जनसभाको तयारी अन्तिम चरणमा पुगेको छ । जनसभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संबोधन गर्ने पनि उनले बताए ।
जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउदै प्राप्त उपलब्धि रक्षाका लागि सक्षम रहेको धारणा उनले राखे ।
जनसभाको आवश्यक तयारी तथा जनपरिचालनका लागि एमाले रुपन्देहीले जिल्ला सचिव चित्रबहादुर कार्कीको संयोजकत्वमा जनपरिचालन कमिटी बनाएको छ ।