२०८२ भाद्र २७
बुटवल २६ भदौ ।
दुई दिन चलेको जेन–जी आन्दोलनमा प्रदर्शनकारी, प्रहरी र आगजनीमा मृत्यु हुनेको संख्या कम्तीमा ३३ पुगेको छ ।
विभिन्न अस्पतालले ३० मृतकको सूची उपलब्ध गराएकोमा बुधबार पोखरामा आगजनी भएका संरचनाभित्र दुई र ललितपुरमा एकको शव जलेको अवस्थामा भेटिएको हो ।
प्रदर्शनको पहिलो दिन सोमबार १९ जनाको मृत्यु भएको थियो । मंगलबार यो संख्या थपिएर ३० पुग्यो । बुधबार पोखरा महानगरपालिका– ६ लेकसाइडस्थित एक रिसोर्ट र पोखरा– ९ नयाँबजारस्थित एक सोरुममा गरी दुईजनाको शव जलेको अवस्थामा फेला परेको छ । बुधबारै ललितपुर ढोलाहिटीमा माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालको घरभित्र एकजनाको शव जलेको अवस्थामा भेटिएको छ ।
अस्पतालहरूले स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार ट्रमा सेन्टरमा आठ, सिभिल अस्पतालमा ६, भेरी अस्पताल ९नेपालगन्ज०मा ५, एभरेस्टमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसीमा २, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९धरान०मा दुई र त्रिवि शिक्षा अस्पतालमा १ को मृत्यु भएको छ । यसबाहेक बुधबार माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालको घरभित्र जलेको अवस्थामा एक र पोखरामा पनि आगजनी भएको घरभित्र अर्को एक शव भेटिएको बताए पनि पहिचान बाँकी रहेकाले प्रहरीले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरका अस्पतालमा एक हजार ६१ जना घाइते भर्ना भएकामा ७१९ डिस्चार्ज भएका छन् । घाइते भएपछि सबैभन्दा धेरै सिभिलमा ६३६, ट्रमा सेन्टरमा १६१, एभरेस्टमा १०९, केएमसीमा ३३, त्रिवि शिक्षणमा २६ र वीरमा २० जना उपचारमा थिए । त्यस्तै, पाटनमा १०, गण्डकी मेडिकल कलेज ९पोखरा०मा ६, अन्नपूर्ण न्युरोमा ४ र नर्भिकमा ३ जना भर्ना थिए ।
पोखरा र ललितपुरमा आगजनी भएका घरभित्र भेटिए थप तीन शव
बुधबार पोखरा महानगरपालिका– ६, लेकसाइडस्थित रिसोर्ट र पोखरा– ९, नयाँबजारस्थित एक सोरुममा गरी दुईजनाको शव जलेको अवस्थामा फेला परेको छ । बुधबारै ललितपुर ढोलाहिटीमा माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालको घरभित्र एकजनाको शव जलेको अवस्थामा भेटिएको छ । उनीहरू तीनैजनाको सनाखत हुन सकेको छैन ।