२०८२ असार ९
बुटवल ।
गुल्मी धुर्कोट गाउँपालिकामा अध्यक्षका उम्मेदवार भुपाल पोखरेलले अधुरा र अपूरा कामहरु सम्पन्न गर्न आफ्नो उम्मेदवारी भएको बताएका छन ।
अघिल्लो कार्यकालमा आफूले गाउँपालिकाको विकासका निम्ति जग बसालेको भन्दै त्यसलाई पूरा गर्न र देशकै नमुना गाउँपालिका बनाउन आफूले दोस्रो पटकका लागि पुनः उम्मेदवारी दिएको बताए । नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका पोखरेलले पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा युवाहरुबाट परिवर्तन सम्भव छ भन्ने उदाहरण यसअघिकै कार्यकालमा प्रमाणित भएको बताए ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गर्ने समानीकरण अनुदानका लागि १७ सूचकका आधारमा मूल्याङ्कन गर्दा धुर्कोट गाउँपालिका देशमै तेस्रो भएको थियो । १०० अंकमा धुर्कोट गाउँपालिकाले ७६ दशमलव ५४ अंक ल्याएको थियो । दोस्रो हुने मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले ७७ दशमलव ११ अंक ल्याएको थियो भने पहिलो हुने डडेल्धुराको अजयमेरु गाउँपालिकाले ७८ दशमलव ६९ अंक ल्याएको थियो ।
गाउँपालिकामा अधुरा कामहरु पूरा गर्नका लागि पुनः यहाँका स्थानीयहरुको माग अनुसार नै आफ्नो उम्मेदवारी भएको उनको दाबी छ । पाँच बर्षको कार्यकालमा आफूले गाउँपालिकाभित्रका ८० प्रतिशत स्थानीयका घरमा एक घर एक धारा पुगेको, गाउँपालिकालाई गुल्मी जिल्लामै पहिलोपटक खरको छानामुक्त गाउँपालिका घोषणा गरेको, गाउँपालिकाको आफ्नो प्रशासकीय भवनसँगै सभाहलहरु निर्माण गरेको बताए ।
युवाहरुलाई गाउँमै व्यावसायिक रुपमा कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार बनाउने, सडक सञ्जालहरुलाई स्तरोन्नतिसँगै कालोपत्रे गर्ने, बसाई सराइँको दरलाई कम गर्न सामुदायिक विद्यालयहरुको शिक्षालाई गुणस्तरीय बनाई देशकै नमुना गाउँपालिका बनाउने उनको दाबी छ ।
उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसका महेन्द्र भण्डारी अध्यक्षको प्रतिस्पर्धी छन । अघिल्लो कार्यकालमा उनी नेपाली कांग्रेससँगको तालमेलबाट अध्यक्ष बनेका थिए ।