२०८२ पुष ५
बुटवल, ५ पुस ,
नेकपाले काठमाडौंमा आज एकता सन्देश सभाको आयोजना गरेको छ , जसमा ५० हजार मानिस सहभागी हुने अपेक्षा रहेको सो पार्टीले राखेको छ ।
सभा बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा भृकुटीमण्डपमा हुँदैछ ।
जुलुस सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकाबाट सुरु भई भृकुटीमण्डपमा सभामा परिणत हुनेछ।बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको हो । सो पार्टीका अनुसार बिहान ११ः३० बजे सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुस जम्मा हुनेछन् । सबै जना एकीकृत भएपछि दिउँसो सवा १२ बजेबाट जुलुस सुरु हुने ।शीर्ष नेताहरू जुलुसमा सहभागी नभई सिधै मञ्चमा प्रवेश गर्ने बताइएको छ । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभा भृकुटीमण्डपको तीनकुने सडकमा हुनेछ ।
कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वटा वामपन्थी घटक मिलेर नेकपा बनाएका थिए ।
पार्टी एकता सन्देश दिनका लागि नेकपाले मंसिर १२ गतेदेखि सातै प्रदेशमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै आएको थियो ।