२०८२ माघ १
बुटवल ,२५ पुस ।
प्राविधिक धार सञ्चालनमा रहेका लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका विद्यालयका प्रधानाध्यापकहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न गरिएको छ।
कार्यक्रममा सहभागि नवीन औद्योगिक कदर बहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार कार्यक्रममा रूपन्देही, कपिलवस्तु र नवलपरासी ( वर्दघाट सुस्ता पश्चिममा) जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा सञ्चालित कार्यक्रममा प्रधानाध्यापक सक्षमता प्रारूप २०८१ मा प्रधानाध्यापक सक्षमतालाई ४६ वटा सूचक र सातवटा क्षेत्रमा समावेश गरेको छ। जसमा विद्यालयको रणनीतिक दिशा निर्माण ,शिक्षण तथा सिकाइको नेतृत्व ,विद्यालयको व्यवस्थापकीय नेतृत्व, आफ्नो तथा सहकर्मी शिक्षकको पेशागत विकास, सरोकारवालाहरूसँगको सहकार्य, परिवर्तन र नवप्रवर्तनको नेतृत्व र व्यक्तिगत गुण तथा सामाजिक र अन्तरवैयक्ति शिपको विकासमा पाँचवटा समूह निर्माण गरिएको थियो । पहिलो समूहबाट कौशिला गैरे ,दोस्रो समूहबाट शिशिर प्रसाद अर्याल, तेस्रो समूहबाट प्रेमबहादुर बस्नेत, चौथो समूहबाट दिनेश थापा र पाँचौं समूहबाट फानप्रसाद श्रेष्ठले प्रस्तुतिकरण गरेका थिए। कार्यक्रमको संयोजकमा शिशिर प्रसाद अर्याल र मनोरञ्जन संयोजकमा हेमराज आचार्य रहेका थिए । कार्यक्रममा मानव स्रोत विकास केन्द्रका निर्देशक नीम प्रकाश सिंह राठौर, शाखा अधिकृत गीता शर्मा ,शिक्षा विकास तथा समन्वय एकाइ रूपन्देहीका शाखा अधिकृत जीवन खनाल लगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशु विज्ञान र बाली विज्ञान धार अध्यापन हुने विद्यालयका प्रधानाध्यापकहरूको समूहले मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरलाई प्राविधिक तथा व्यवसायिक धारको नीतिगत तथा कानुनी, जनशक्ति उपलब्धता ,भौतिक पूर्वाधार ,विद्यार्थी भर्ना र निरन्तरता, शैक्षिक गुणस्तर सान्दर्भिकता, प्रयोगात्मक अभ्यासका साधन स्रोतको उपलब्धता र स्थानीय तह र समुदायको सहयोग लगायतका विषयका समस्या एवं चुनौतीहरू धार अनुसार पेश गरिएको थियो।

