२०८२ माघ १५
बुटवल, १५ माघ ।
रुपन्देही क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुभास पाण्डे विश्वदीपलाइ विजय बनाउन ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेपाली कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्य नारायण जी सी निर्मलको संयोजकत्वमा सो समिति गठन गरिएको हो । जसको सह संयोजकमा कमल बस्याल, निर्देशक अनुगमन र मत सर्वेक्षण समितिको संयोजकमा पार्टीका केन्द्रिय सदस्य राम परियार रहेका छन ।

नेपाली कम्युनिष्ट पार्टीले बिहिबार बुटवलमा निर्वाचन परिचालन समितिको घोषणा गर्दै फागुन २१ गते हुने निर्वाचन नियमित संसदीय निर्वाचन नभई जेनजी आन्दोलनले निम्त्याएको विशेष निर्वाचन भएकोले सम्पूर्ण शक्ति लगाएर निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।
घोषणा कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व मन्त्री चक्रपाणी खनाल बलदेवले कांग्रेस, एमाले र नयाँ भनिएका दलहरुबाट देशलाई संकट तर्फ धकेलिने जिकिर गर्दै निर्वाचनसंगै आईरहेको दुर्घटनालाई रोक्न र जनताको अपेक्षा अनुसार बिकासको खाका कोर्न नेपाली कम्युनिष्ट पार्टीका उम्मेदारलाई बिजय बनाउन आग्रह गरे । उनले पछिल्लो जेन्जी आन्दोलनले उठाएका एजेण्डा समेत आफ्नो पार्टीले उठाउदै आएका एजेन्डा भएकोले युबाहरुको मागमा प्रतिवद्ध रहेको तर्क समेत गरे । उनले रुपन्देही २ का उम्मेदवार सुभास पाण्डे लगायतका उम्मेदवारहरु आफ्नो तागत र एजेण्डाबाट विजयी भएरै छाड्ने जिकिर समेत गरे ।

रुपन्देही क्षेत्र नं २ का उम्मेदवार सुवास पाण्डे विश्वदीपले कांग्रेस, एमालेको बिकल्प खोज्न फागुन २१ मा चुनाव हुन लागेको उल्लेख गर्दै जनताको अधिकार खोस्न नदिई विकास निर्माणको अभिभारा पुरा गर्न आफ्नो पार्टीलाई मत दिन आग्रह गरे ।
राजनैतिक विश्लेषक युग पाठकले चुनावभन्दा ठूलो लडाई देशलाई संभावित दुर्घटनाबाट जोगाउनु रहेको बताए ।
निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु राम परियार, महेन्द्र भुसाल, मजदुर नेता चिनबहादुर गुरुङ्ग, नेतृ रिज्जु श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

रुपन्देही क्षेत्र नं २ मा बुटवल उपमहानगरपालिकाका १ देखि १३ नं सम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नं सम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ नं सम्मका वडा पर्दछन ।