२०८२ माघ १७

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा चुनावी घोषणापत्र सार्वजनिक
  • लुम्बिनी खोज
  • २०८२ माघ १६, शुक्रबार १५:३१ गते

बुटवल १६ माघ ।
राष्ट्रिय जनमुक्ति पार्टीले नागरिक सम्बोधनपत्र (चुनावी घोषणापत्र) सार्वजनिक गरेको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनमुक्ति पार्टीले शुक्रबार रुपन्देहीबाट घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रबारे पार्टी अध्यक्ष केशवबहादुर थापा र महासचिव टोप अस्लामी मगरले चर्चा गरेका थिए। ‘शान्त, समृद्ध, स्वावलम्बी आधुनिक नेपाल निर्माण गर्न हाम्रो आह्वान, विभेद, बेरोजगारी र भ्रष्टाचारको अन्त्यका लागि हात मिलाएको चिह्नमा मतदान’ भन्ने नाराका साथ पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषापत्रमा मुलुकको समृद्धिदेखि संघीय खाकासम्मका विषय समावेश छ। हालको संविधानले अंगीकार गरेको संघीय संरचना त्रुटिपूर्ण रहेको सो पार्टीको ठहर छ। राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्ने किसिमको संघीय मोडेल नरहेको भन्दै जनमुक्ति पार्टीले शक्तिशाली राज्य पुनर्संरचना आयोग गठन गरी त्यसले सुझाएबमोजिमको संघीय ढाँचामा जानुपर्ने जनाएको छ ।
केन्द्रीय तहमा राष्ट्रपति रहने व्यवस्थाभन्दा क्लस्टरमा आधारित संसद्‍ले चुन्ने राष्ट्रपतिमण्डल उपयुक्त हुने र कार्यकारी प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने, मन्त्रिमण्डल सांसद र गैरसांसद दुवैबाट बनाउन सकिने व्यवस्था उचित हुने र प्रदेश मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने सो पार्टीको धारणा छ ।
घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष थापाले सहमति र सहकार्यमा जोड दिएका छन् । उनले अहिलेको निर्वाचन प्रणालीले कुनै दलको बहुमत नआउने भएकाले संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलबिच सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।
नेपालमा कुशासन, गरिबी, बेरोजगारी, परनिर्भरता र विदेश पलायनको मूल कारण भ्रष्टाचार रहेको भन्दै घोषणापत्रमा हालसम्मका सबै भ्रष्टाचारको छानबिन गरी ठहर भएकालाई देशद्रोही घोषणा गरी तिनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धता छ । औद्योगीकरणका सवालदेखि लगानी तथा रोजगार एवं रेमिट्यान्सबारे पनि घोषणापत्रमा चर्चा गरिएको छ ।
वैदेशिक रोजगारीका लागि कामको दक्षता, कामदारको आत्मसम्मान र व्यक्तिगत सुरक्षाको प्रत्याभूति अनिवार्य गरिनुपर्ने र यसका लागि राज्यलाई नै जवाफदेही बनाउने, करकाप, लोभलालच वा भ्रममा पारी वैदेशिक रोजगारीमा लैजाने कार्यलाई जघन्य अपराध घोषित गरी कडा दण्ड सजाय गर्ने सो पार्टीको प्रतिबद्धता छ। पात्रहरूमाथिभन्दा नीतिमाथिको बहस महत्त्वपूर्ण हुने भन्दै अध्यक्ष थापाले ०७९ सालका प्रतिबद्धतालाई पनि जोडेर पार्टी अगाडि बढेको बताए। दुईतिहाइको वा सिंगो एकमतको सरकार बनाएर मुलुकलाई हाँक्ने परिस्थिति नरहेको भन्दै उनले समानुपातिकतर्फ १२ जना र प्रत्यक्षतर्फ १७ जना मैदानमा उत्रिएको बताए।
पार्टीका महासचिव अस्लामी मगरले पार्टीले लुम्बिनी प्रदेशका १० क्षेत्रमा प्रत्यक्षतर्फ र १२ जनालाई समानुपातिक उम्मेदवार बनाएको बताए । आफ्नो उम्मेदवार नभएका क्षेत्रमा तुलनात्मक रूपमा राम्रो छवि भएका उम्मेदवारलाई समर्थन गर्ने सो पार्टीले जनाएको छ ।