२०८२ माघ २१
बुटवल, २१ माघ ।
प्रतिनिधि सभा निर्बाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका उम्मेद्वार चुन्नप्रसाद पौडेललाई पूर्वआप्रवासीहरुद्धारा साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन ।
बुधबार उम्मेद्वार पौडेलसंग बुटवलमा भएको भेटमा देशको विकास र समृद्धिको लागि काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको र त्यसका लागि पनि काँग्रेस उम्मेद्वारलाई जिताउनु पर्ने आवश्यकतामा जोड दिएका हुन् । नेपाली काँग्रेस पूर्वआप्रवासी समन्वय विभाग, रुपन्देहीले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पौडेलसंग भेटघाट कार्यक्रम आयोजना गरेको थियो । पूर्वआप्रवासीहरूको योगदान र एकताले काँग्रेसको लोकतान्त्रिक आन्दोलन अझ सशक्त बनेको उनीहरूको भनाइ थियो ।
उद्योगपतीलाई साथ दिँदा यस क्षेत्रको औद्योगिक विकासको समेत ढोका खुल्ने विश्वास व्यक्त गर्दै पूर्वआप्रवासीहरुले आफूहरुको साथ रहने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा बोल्दै रुपन्देही २ का प्रतिनीधि सभा सदस्य पदका उम्मेद्वार चुन्नप्रसाद पौडेलले समुन्नत नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न नेपाली काँग्रेसको जित अपरिहार्य रहेको स्पष्ट पारे ।
काँग्रेसका प्रतिनिधिहरू विजयी भए मात्र लोकतान्त्रिक मूल्य, स्थायित्व र विकासको बाटो खुल्ने उनको भनाइ थियो ।
देशमा बढ्दो युवा पलायन गम्भीर चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै पौडेलले स्वदेशमै रोजगारी सिर्जना गर्ने, विकासका गतिविधिलाई थप गति दिने र अर्थतन्त्र चलायमान बनाउने आफ्नो प्राथमिकतामा रहेको बताए ।साथै, जनताको सुख–दुःखमा सधैं साथमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही २ का सभापति तथा निर्वाचन परिचालन मुल समितिका संयोजक प्रजापाल गिरीले काँग्रेसले अगाडी सारेका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल इमान, प्रतिष्ठा र समाजप्रतिको निष्ठा कायम राख्दै यस क्षेत्रको औद्योगिक विकासमा योगदान गर्नुको साथै निरन्तर समाजसेवामा रहनुभएको उल्लेख गरे ।
नेपाली काँग्रेस पूर्वआप्रवासी समन्वय विभाग, रुपन्देहीका अध्यक्ष लालमणी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विभागका केन्द्रीय सदस्य यदुनाथ पाण्डे, प्रदेश अध्यक्ष माधव भुसाल लगायतले भनाई काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेललाई आफूहरुको बलियो साथ रहने बताउँदै उहाँले जित्ने माहौल निर्माणमा समेत भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।