२०८२ माघ २७

चुनावी अभियानमा रुपन्देहीमा रवि
  • लुम्बिनी खोज
  • २०८२ माघ २६, सोमबार १७:१७ गते

बुटवल २६ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार रुपन्देहीमा चुनावी अभियान ब्यस्त रहे । उनी यहाका ५ वटै निर्वाचन क्षेत्रमा पुगे । सबै निर्वाचन क्षेत्रका धेरै ठाउमा सम्बोधन गर्न पनि भ्याए । बिहानै क्षेत्र नम्बर १ बाट अभियान शुरु गरेका लामिछाने राति सम्म नै चुनावी अभियानमा खटिए ।
ठाउ ठाउमा मतदाता तथा शुभेच्छुकहरूसँग भेटघाट गरेका लामिछानेले संक्षित संशोधनहरु पनि गरे ।
रुपन्देही १ अन्तर्गत खैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेले मुलुकको दीर्घकालीन परिवर्तनका लागि युवापुस्ताले नेतृत्व लिनु अपरिहार्य भएको बताए। यसपटकको निर्वाचनलाई सामान्य राजनीतिक प्रक्रिया नभई भविष्यको दिशा तय गर्ने निर्णायक अवसरका रूपमा व्याख्या पनि उनले गरे ।
कार्यक्रममा उनले रुपन्देही १ बाट पार्टीका महामन्त्री सुनील लम्साल उम्मेदवार रहेको जानकारी दिँदै उनको समर्थनमा मतदान गर्न आह्वान गरे। साथै, चुनावी गतिविधिलाई औपचारिक सभामा मात्र सीमित नगरी जनतासँग प्रत्यक्ष जोडिने अभियानका रूपमा अघि बढाउन कार्यकर्तालाई निर्देशन दिए ।
युवा नेतृत्व, स्थिर राजनीति र जनमतको सम्मानलाई केन्द्रमा राख्दै लामिछानेले यो निर्वाचनलाई नेपालको राजनीतिक भविष्य मोड्ने महत्त्वपूर्ण चरणको रूपमा चित्रित गरे। लामिछानेले रुपन्देही २ का उम्मेदवार शुलभ खरेल, ३ का उम्मेदवार डाक्टर लेखजंग थापा, ४ का कन्यैया बानिया, ५का तैफिक अहमद खान सहित समानुपातिक उम्मेदवारहरु सगै निर्वाचन क्षेत्रहरुमा लामिछाने पुगेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संगठन बिभाग सदस्य तथा पार्टीले गठन गरेको संघिय निर्वाचन सम्पादन समितिका सदस्य गोपाल घिमिरेका अनुसार रुपन्देहीका सबै ठाउमा निकै उत्साहजनक जनसहभागिता रहेको थियो ।