२०८२ माघ २७

चुन्नप्रसाद पौडेलको पक्षमा जनलहर बढ्दै गएको कांग्रेसको दावी
  • लुम्बिनी खोज
  • २०८२ माघ २७, मंगलवार १३:२८ गते

बुटवल २७ माघ ।
२०४४ सालमा बुटवल झरेर त्यसबेलादेखि नै बुटवलमा व्यवसाय सुरु गरेका व्यवसायी चुन्नप्रसाद पौडेलले मंगलबार बुटवलमा किराना व्यवसायीहरुसंग अन्तरक्रिया गरेका छन् । सफल व्यवसायिक पहिचान बनाएका पौडेलले विभिन्न उद्योगहरुमा हात हालेर वरिष्ठ उद्योगीको पहिचान बनाएका छन् । आसन्न प्रतिनीधि सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेद्वार पौडेलको पक्षमा जनलहर बढ्दै गएको कांग्रेसले दावी गरेको छ ।
किराना व्यवसायीहरुसगको छलफलमा ब्यवसायीहरुले पौडेललाई पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । केही ब्यवसायीहरुले यो निर्वाचनमा आफूहरुले पार्टी नभनेर व्यवसायिका प्रतिनीधिलाई जिताउने समेत प्रतिवद्धता व्यक्त गरे ।
खुद्रा किराना व्यवसायी संघका अध्यक्ष गोपालकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार कृष्णप्रसाद पाण्डे, महासचिव यमलाल वेलवासेलगायतले खुद्रा किसाना व्यवसायीहरुले चुन्नलाई जिताउँदा आफूहरुको पहिचान पनि स्थापित हुने र व्यवसायीका समस्या समाधानका लागि पनि परिवारकै सदस्य भएकाले सहज हुने विश्वास सहित साथ र सहयोग रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै उम्मेदवार चुन्नप्रसाद पौडेलले आफू खुद्रा किराना व्यवसायबाट यो उद्योगीको पहिचान बनाएको बताउँदै आफू उठेको धरातलको समस्यासंग परिचित रहेको भन्दै समस्या समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले व्यवसायीका समस्या समाधानका लागि गर्नुपर्ने नीतिगत सुधारका लागि व्यवसायीहरुसंगै बसेर समाधानको मार्गचित्र बनाउने पनि प्रतिवद्धता व्यक्त गरे ।
त्यस अवसरमा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति तथा निर्वाचन परिचालन मुल समितिका संयोजक प्रजापाल गिरीले पौडेल उद्योगी व्यवसायीका अभिभावक रहेको बताउँदै पौडेलको जीतले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाली काँग्रेस सुजबुझपूर्ण रुपमा यो देशको विकास र समृद्धिका यात्रामा रहेकाले यो देशको समृद्धि र विकासका लागि पनि चुन्नप्रसाद पौडेललाई रुख चिन्हमा मतदान गरि विजयी गराउनु पर्ने बताए ।
बुटवलका २४ जना युवा काँग्रेसमा प्रवेश

विभिन्न राजनीतिक दल परित्याग गरि बुटवलका विभिन्न वडाबाट युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मुलुकको विकासमा स्थिर र प्रतिवद्ध पार्टी नेपाली काँग्रेस मात्रै रहेको निश्कर्ष सहित माओवादीको द्वन्द्वमा भूमिगत जीवन विताएकाहरु समेत गरि २४ जना युवाहरु काँग्रेसमा प्रवेश गरेका हुन् । देशप्रतिको निष्ठा र विकास प्रतिको समर्पण नेपाली काँग्रेसमा मात्रै देखेर आफूहरु पार्टीमा प्रवेश गरेको उनीहरुले बताएका छन् । उनीहरुलाई नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उम्मेद्वार चुन्नप्रसाद पौडेल, क्षेत्रीय सभापति प्रजापाल गिरीलगायतका काँग्रेस नेताहरुले मंगलबार बुटवल उपमहानगरपालिका वडा नं. ८ मा आयोजना गरिएको कार्यक्रममा पार्टीमा प्रवेश गराए । त्यसैगरी मंगलबार नै तिलोत्तमा नगरपालिका वडा नं. २ मा पार्टीको प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको सो पार्टीले जनाएको छ ।