२०८२ फाल्गुन १

बुटवल ११ मा कांग्रेसको बृहत भेला, समस्या समाधान गर्छुः चुन्नप्रसाद पौडेल
  • लुम्बिनी खोज
  • २०८२ माघ २९, बिहीबार १६:१५ गते

बुटवल, २९ माघ ।
नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल उपमहानगरपालिका वडा न ११ मा बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ । कालिकानगरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले काँग्रेसले बदलिएको सन्देश सहित चुनावी अभियानमा एक ढिक्कासहित जुटेकाले देशभर जित पक्का रहेको दाबि गरेका छन् । काँग्रेसले नेतृत्वसंगै कार्यशैली पनि बदलेर जनतामाझ आएकाले आफ्ना एजेण्डासहित घरघरमा पुगेर कांग्रेसका पक्षमा मत माग्न आग्रह गरिएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसको तर्फबाट रुपन्देही २ का उम्मेदवार बनेका वरिष्ठ उद्योगी तथा समाजसेवी चुन्नप्रसाद पौडेलले आफु बुटवल ११ कै बासिन्दा भएकाले यहाँको समस्याहरुका बारेमा आफू जानकार रहेको बताए । उनले निर्वाचन जिताएर पठाए बुटवल ११ का भूमिहिन सुकुम्बासीले बेहोर्नुपरेको समस्या समाधान गर्ने र लालपूर्जा बितरण गर्ने बताए ।
पौडेलले तिनाउ करिडोरको समस्या समाधान गरिने उल्लेख गर्दै काँग्रेस नेतृत्वको सरकारले मात्रै मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउने भएकाले काँग्रेस नेतृत्वका सरकार बनाउनका लागि पनि आफूलाई जिताउन आग्रह गरे ।
उनले यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकास आफ्नो पहिलो प्राथमिकता हुने बताउँदै त्यसका लागि पनि आफूलाई जिताउन आम पार्टीको नेता, कार्यकर्ता सहित आम मतदातालाई अपिल गरे । २००७ सालयता मुलुक संकटमा पर्दा काँग्रेसले नै निकास दिएको स्मरण गराउँदै उनले वर्तमान चुनौतीको समाधान पनि काँग्रेस नेतृत्वबाटै सम्भव हुने विश्वास व्यक्त गरे ।
काँग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्कीले जेनजी आन्दोलनपछि काँग्रेसले आत्मसमीक्षा गर्दै आफूलाई रूपान्तरण गरेको बताए । बद्लिएको काँग्रेसले अब देशको अवस्था बदल्नेगरि अगाडि बढेको उनको भनाइ छ । जेनजी युवाहरूको भावना र अपेक्षाअनुसार देशलाई अघि बढाउन काँग्रेसको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । रुपान्तरित कांग्रेसले देशको नेतृत्व गरेमात्र मुलुक समृद्ध बन्ने र संविधान सहि ढंगले कार्यान्वयन हुने पनि उनले बताए ।
प्रदेश कोषाध्यक्ष प्रकाश रानाले अन्य दलका उम्मेदवारको अनुहार र ब्यवहार जनताले देखिसकेको भन्दै नयाँका नाममा भैरहेको राजनीति देशलाइ घातक हुने टिप्पणी गरे । रानाले जनताका बिचमा कांग्रेसले देश बनाउन गरेको योगदानको चर्चा र एजेण्डाहरु प्रर्याप्तै रहेको बताए ।
नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देहीका सभापति तथा प्रचारप्रसार मुल समितिका संयोजक प्रजापाल गिरीले देशको विकास र समृद्धिका लागि नेपाली काँग्रेसको जित अनिवार्य रहेको बताए । उनले अन्य दलहरुले प्रोपोगान्डा र निराशा फैलाएर राजनीति गरिरहेको आरोप लगाए । गिरिले भ्रष्टाचार बिरुद्ध कांग्रेस निर्मम भएर अघि बढ्ने उल्लेख गर्दै उनले अहिले काँग्रेस स्पष्ट योजनासहितको कार्यक्रम लिएर चुनावमा होमिएको र चुनावपूर्व हुने गठबन्धन संस्कृतिको अन्त्य गर्नु बदलिएको काँग्रेसको उपलब्धि भएको दाबी गरे ।
कार्यक्रममा प्रदेश सदस्य बालकुमारी भण्डारी, टे«ड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ, बुटवल वडा न ११ का वडासभापति जितबहादुर मल्ल, उपसभापति दुर्गा बहादुर खत्री, सचिव यज्ञ प्रसाद न्यौपाने, जेनजी समुहका सिद्धार्थ कोइराला लगायतले बोल्दै कांग्रेसलाइ जिताएर देशकै पहिलो पार्टी बनाउने बताएका थिए ।