२०८२ फाल्गुन ७

रुपन्देही–२  मा पाण्डेले मतदातासंग भने – भोट दिनुहोस स्थानीय पनि हूँ, युवा पनि हुँ, यस क्षेत्रलाई सक्षम नेतृत्व दिन सक्छु ।
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन ६, बुधबार १७:४९ गते

बुटवल,६फागुन ।

रुपन्देही निर्वाचन क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुभास पाण्डे ‘विश्वदीप ’ ले “म स्थानीय पनि हूँ, युवा पनि हुँ, यस क्षेत्रलाई सक्षम नेतृत्व दिन सक्ने क्षमतावान हुँ,” त्यसै कारण आफुलाई मतदान गर्न आग्रह गरेको बताएका छन ।

बुधबार बुटवलमा घरदैलो अभियानको क्रममा उनले जेन्जी आन्दोलनको मर्मअनुसार नीति निर्माण तहमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।मतदातासँग प्रत्यक्ष संवाद गर्दै पाण्डेले भने, “वर्षौंदेखि जकडिएका समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएर हामी यहाँ आएका छौं । जनताको माया र विश्वास पाएका छौं । यसपटक जीत निश्चित छ भन्ने ढुक्क छ ।”हाल उनी सैनामैना, बुटवल र तिलोत्तका वडाहरूमा घरदैलो अभियानमा रहेका छन् ।

पाण्डेका अनुसार, जनतासँग भेट्दा आक्रोश, माया, विश्वास र स्नेह महसुस गरेका छन् । “जनताको समस्यालाई बुझ्नु, सुन्नु र समाधानका उपाय अघि राख्नु मेरो पहिलो जिम्मेवारी हो,” उनले थपे ।पाण्डेले युवा पुस्तालाई प्राथमिकता दिनुपर्ने जेन्जी आन्दोलनको माग अनुसार आफू योग्य रहेको बताए । “म स्थानीय पनि हूँ, युवा पनि हुँ, यस क्षेत्रलाई सक्षम नेतृत्व दिन सक्ने क्षमतावान हुँ,” उनले भने ।प्रविधि र नवीन सोच लिएर क्षेत्रको समग्र विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उनी भन्छन्, “खानेपानी, बसोबास, शिक्षा, स्वास्थ्य, उच्च शिक्षा र सामाजिक विकासमा सधैं सक्रिय रहनेछु । अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर रुपन्देही–२ को विकास अघि बढाउने योजना छ ।”

पाण्डेले धार्मिक, सांस्कृतिक र सामाजिक सन्तुलन कायम गर्दै जनताका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । “चुनावपछि पनि म जनताको साथमा रहनेछु, सके संसदबाट नभए सडकबाटै,” उनले स्पष्ट पारे ।