२०८२ चैत्र ९
रुपन्देही ।
बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ जना युवाहरु एमालेमा समाहित भएका छन् । तत्कालीन नेकपा एसबाट बुटवल उपमहानगरपालिका वडा नं २ मा वडाध्यक्षमा जितेका सुनिल शाक्यसहितका ती युवाहरुलाई एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ मा एमालेका उम्मेदार विष्णु पौडेलले स्वागत गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीलगायतका दलमा आवद्ध युवा नेताहरु पौडेललाई जिताउने अभियानमा सामेल भएको जनाएका छन् । एमालेका युवा नेता तथा रुपन्देही क्षेत्र नं २ निर्वाचन परिचालन समिति सहसंयोजक राजु गुरुङको पहलमा वडाअध्यक्ष शाक्य, युवा नेताहरु शंकर घर्ती, विक्रम बस्याल, सुमन गुरुङ, प्रवेश सुनार, राजु क्षेत्री, आकाश गुरुङ, झविन गौतम, धनसिंह खाम्चालगायत युवाहरु पौडेललाई साथ दिन तयार भएका हुन् ।
उनीहरुले यस क्षेत्रको दीर्घकालीन विकास र समृद्धिका लागि विष्णु पौडेलको विकल्प नभएको र भविष्यको प्रधानमन्त्री बन्नसक्ने व्यक्तित्व भएकाले साथ दिन तयार रहेको जनाएका छन् ।
एमाले उपाध्यक्ष पौडेलको उपस्थितिमा युवा नेता राजु गुरुङले युवाहरुको प्रतिनिधिमूलक भेला गराई उनीहरुलाई यो अभियानमा सामेल गराएको र उनीहरुमार्फत कम्तीमा ५ सय युवाहरु एमालेमा जोडिने नेता राजु गुरुङले दाबी गरेका छन् । युवाहरुको प्रवेशसंगै रुपन्देही २ मा पौडेलको जित सुनिश्चित भएको भन्दै नेता गुरुङले सामाजिक सञ्जालको भ्रममा नपरी फराकिलो जितका लागि मेहनत गर्नुपर्ने युवाहरुलाई निर्देशन दिए । एमाले परिवारका सदस्यहरुसंग पुनर्मिलन र युवाहरुको साथले आफूलाई थप उत्साहित बनाएको उम्मेदवार पौडेलले बताएका छन् । आइतबार राती उनले ती युवाहरुलाई स्वागत गरेको फोटा सार्वजनिक गरेका छन् ।