२०८२ फाल्गुन १५

रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा एमालेको अनुगमन
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन १४, बिहीबार १०:२६ गते

पाँचै क्षेत्रमा एमाले पहिलो रहेको निचोड
बुटवल १४ फागुन ।
नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माको नेतृत्वको टोलीले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा अनुगमन गरेको छ । सबै क्षेत्रमा उम्मेदारहरु जित्ने पूर्णआत्मविश्वासका साथ मैदानमा खटिएको र अहिलेको वातावरणले सबै क्षेत्र जित्ने बलियो आधार बनेको निचोड निकालेको एमालेले जनाएको छ ।
सचिव विश्वकर्मासँगको टोलीमा रुपन्देहीका पूर्व इन्चार्ज रहेका नेता लिला गिरी, नेता गोपाल भट्टराई र जिल्ला अध्यक्ष यज्ञ गैरेले सबै निर्वाचन क्षेत्रका उम्मेदार, निर्वाचन परिचालन कमिटी र ती क्षेत्रमा रहेका विभिन्न कार्यक्रमसमेतको अवलोकन गरेर उम्मेदारसहित त्यहाँको पार्टी नेतृत्वलाई आगामी रणनीतिबारे निर्देशन गरेको थियो । जिल्ला अध्यक्ष गैरेका अनुसार सबै क्षेत्रका उम्मेदारसँग घरदैलोकै क्रममा प्रत्यक्ष संवाद, निर्वाचन परिचालन कमिटीको नेतृत्वसँग छलफल तथा क्षेत्रीय रुपमा आयोजित घरदैलो, प्रचार र्यालीसहितका कार्यक्रम अनुगमन गरिएको हो ।
रुपन्देहीको क्षेत्र नं २ मा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेदार रहेका छन् । टोलीले सो क्षेत्रको निर्वाचन परिचालन कमिटीका संयोजक भोजप्रसाद श्रेष्ठसँगको कुराकानीमा फरााकिलो मतान्तरले उपाध्यक्षले जित्ने विषयमा कुनै समस्या नरहेको जनाइएको थियो । क्षेत्र नं १ मा एमालेका केन्द्रीय नेता दधिराम न्यौपाने उम्मेदार रहेका छन् । यसअघि सो क्षेत्रमा जितेका विश्वकर्माले न्यौपानेको घरदैलौमै पुगेर मतदातासमक्ष मत मागे र त्यहाँको पार्टी कमिटीलाई पूर्णरुपमा लाग्न निर्देशन दिए ।
क्षेत्र नं ३ मा उम्मेदार रहेका बासुदेव घिमिरेको माहोल पहिलेभन्दा धेरै राम्रो भएको टोलीलाई उनले सुनाए । भैरहवा, बेथरी हुँदै फर्साटिकरमा रहेको घिमिरेको घरदैलोमै टोली पुगेर मैदानको अवस्थाबारे जानकारी लिएको थियो । क्षेत्र नं ४ मा उम्मेदार रहेका प्रमोद यादवको माहोल अझै राम्रो भएको छ ।
रुपन्देही क्षेत्र नं ५ उम्मेदार रहेका प्रभावशाली नेता खिमलाल भट्टराईले टोलीमा रहेका नेताहरुलाई आत्मविश्वासका साथ फराकिलो मतान्तरले निर्वाचन जित्ने सुनाए । गैडहवामा घरदैलोमा रहेका भट्टराईले पार्टीले गर्ने निर्देशनका आधारमा अघि बढेको र कुनै स्थानमा समस्या भए तत्काल समन्वय गर्ने जनाएका थिए ।