२०८२ फाल्गुन १५

बुटवलमा काँग्रेसको चुनावी सभालाई गगनले सम्बोधन गर्ने
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन १४, बिहीबार १०:३४ गते

बुटवल १४ फागुन ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले भोली शुक्रवार बुटवलमा वृहत् चुनावी सभा गर्ने भएको छ । रुपन्देही केन्द्रित उक्त सभा बुटवलको देवीनगरमा आयोजना गरिएको कांग्रेसले जनाएको छ ।
सभालाई कांग्रेसका सभापति गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा उनले वर्तमान राजनीतिक अवस्था, लोकतान्त्रिक सुदृढीकरण, सुशासन, रोजगारी सिर्जना, युवा सहभागिता तथा आर्थिक रूपान्तरणका विषयमा पार्टीको धारणा राख्ने कांग्रेस रुपन्देहीका नेताहरुले बताएका छन् ।
नेपाली काँग्रेस रुपन्देही–२ का सभापति प्रजापाल गिरीले रुपन्देहीमा काँग्रेसको पक्षमा जनलहर देखिएको भन्दै भोलिको सभाले त्यसको स्पष्ट सन्देश दिने बताए । सभामा जिल्लाभरबाट नेता(कार्यकर्ता, शुभेच्छुक तथा मतदाताहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको पनि उनले बताए ।
काँग्रेसले लोकतन्त्रको रक्षा, विकास निर्माणमा तीव्रता, उद्योग–व्यवसाय प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने एजेन्डासहित चुनावी अभियान अगाडि बढाएको र प्रधानमन्त्रीका उम्मेद्वार समेत रहेका पार्टी सभापति सहितका नेताहरुको उपस्थितीले स्थानीय उम्मेदवारको जित सुनिश्चित गर्न थप ऊर्जा र उत्साह थप्ने विश्वास लिइएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताए ।
५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा काँग्रेसबाट क्षेत्र नं. १ मा हिराबहादुर खत्री, २ मा चुन्नप्रसाद शर्मा पौडेल, ३ मा सुशील गुरुङ, ४ मा आसुतोष मिश्रा र ५ मा भरतकुमार शाह उम्मेदवार रहेका छन् ।