२०८२ फाल्गुन १७
रुपन्देही–२ मा विकास, सुशासन र समुन्नतिको स्पष्ट योजनासहित चुनावी मैदानमा उत्रिएका चुन्नप्रसाद शर्मा (पौडेल) नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार मात्रै होईनन् । नेपालका ठूला घरनाका उद्योगपति हुन्, जसले ५ हजार बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् । ‘सद्भाव, सुशासन, समुन्नतिः हाम्रो संकल्प’ भन्ने मूल नारासहित उनले बटवल औद्योगिक क्षेत्रलाई विस्तार तथा मोतिपुर औद्योगिक क्षेत्र निर्माण गरेर यस क्षेत्रमा औद्योगिक क्रान्ति गर्ने योजना बनाएका छन् । त्यस्तै बुटवललाई आईटी हवको रुपमा बिकास गर्ने आर्थिक केन्द्र बुनाउने, लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने र सिद्धार्थ बाल तथा महिला अस्पताल ९आम्दा०लाई मेडिकल कलेजको रुपमा विकास गर्ने योजना छ । तिलोत्तमा र सैनामैनालाई व्यवस्थित आधुनिक सहरको रुपमा विकास गर्ने तथा अन्य ग्रामिण क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने, उत्पादित बस्तुको बजार सुनिश्चित गर्ने भरपर्दो योजना बनाएका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः
तपाईंले रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने स्पष्ट दृष्टि प्रस्तुत गर्नुभएको छ । त्यसको आधार के हो ?
रुपन्देही–२ भौगोलिक, व्यापारिक र जनशक्तिको दृष्टिले ऐतिहासिक वयापारिक केन्द्र सहित अन्य ग्रामिण क्षेत्रहरु समेत समेटिएर बनेको अत्यन्तै सम्भावनायुक्त क्षेत्र हो । विशेषगरी बुटवल ऐतिहासिक रूपमा व्यापारिक सहरका रूपमा चिनिन्छ । अब यसलाई परम्परागत व्यापारबाट आधुनिक औद्योगिक र प्रविधि–आधारित अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्छ । मुलुकको अर्थतन्त्रको आधार औद्योगिक विकास हो । औद्योगिक विकास विना आर्थिक समृद्धि सम्भव छैन । औद्योगिक क्रान्ति गर्न सकियो भने आयात रोक्न सकिन्छ, निर्यात गर्न पनि सकिन्छ । देशभित्रै रोजगारी सिर्जना हुन्छ । युवाजनशक्ति विदेश पलायन हुनु पर्दैन । औद्योगिक क्रान्ति मेरो सपना हो । त्यसकारण शिक्षण सेवा छाडेर व्यवसायमा प्रवेश गरेको हुँ । आफ्नो बलबुताले सकेसम्म देशमै केही गर्नुपर्छ भनेर नै उद्योगमा हात हाले । मेरो आफ्नो र परिवारको मात्रै गुजारा चलाउनको लागि यो सबै गर्नुपर्दैनथ्यो । देशमा केही गरौं, देशका लागि सकेको योगदान गरौं भनेर नै उद्योगमा हात हालेको हो । निजी क्षेत्रबाट आफूले सकेको गरेकै छु, तर अब यतीले मात्रै पुग्दैन । उद्योग व्यवसाय गर्नका लागि नीतिगत रुपमा झण्झट छ । त्यसलाई सुधार नगरेसम्म औद्योगिक विकासको वातावरण बन्नसक्दैन । यस कारण उद्योग गर्दा नीतिगत रुपमा काननी रुपमा कस्ता समस्या छन् भन्ने कुरा मैले राम्रोसंग बुझेको छ । समस्या बुझेको व्यक्ति नीति निर्माणको तहमा गयो भने सुधार गर्न पनि सकिन्छ भनेर नै मैले प्रतिनीधि सभामा जाने निर्णय लिएको छु । अव म यहाँको कुरा गछु । सबैभन्दा पहिले, बुटवल औद्योगिक क्षेत्रको विस्तार अपरिहार्य छ । यस क्षेत्रलाई नयाँ प्रविधि, हरित उद्योग र उत्पादनमूलक उद्यमसँग जोड्न आवश्यक छ । त्यसैगरी, वर्षौंदेखि चर्चामा रहेको मोतिपुर औद्योगिक क्षेत्रलाई शीघ्र सञ्चालनमा ल्याउन म विशेष पहल गर्नेछु । म बुटवललाई ‘आईटी हब’ का रूपमा विकास गर्न चाहन्छु । डिजिटल स्टार्टअप इन्क्युबेसन सेन्टर, टेक्नोलोजी पार्क, फ्री वाइफाइ जोन, सीसी क्यामेरा जडानसहितको सुरक्षित सहर अभियान, र डिजिटल सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिनेछ । युवा जनशक्तिलाई सूचना–प्रविधिमा दक्ष बनाउँदै रोजगारी सिर्जना गर्नु आजको आवश्यकता हो । आईटी, बैंकिङ, बीमा, उद्योग र व्यापारलाई एउटै आर्थिक इकोसिस्टममा जोडेर बुटवललाई पश्चिम नेपालको आर्थिक केन्द्रका रूपमा स्थापित गर्ने मेरो लक्ष्य हो ।

स्वास्थ्य क्षेत्रमा तपाईंका महत्वाकांक्षी योजनाहरू छन् । ती कसरी कार्यान्वयन हुन्छन् ?
स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार हो । रुपन्देही–२ मा रहेका अस्पतालहरूको स्तरोन्नति पहिलो प्राथमिकता हो । विशेषगरी लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिनेछ । यसले विशेषज्ञ चिकित्सक उत्पादन, अनुसन्धान र उच्चस्तरीय उपचार सेवा उपलब्ध गराउनेछ । यसबाट लुम्बिनी प्रदेशकै स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार आउनेछ । त्यसैगरी, आम्दा अस्पताललाई मेडिकल कलेजका रूपमा स्तरो bmन्नति गर्ने योजना छ । यसले स्थानीय विद्यार्थीलाई चिकित्सा शिक्षा प्राप्त गर्ने अवसर दिनेछ र विशेषज्ञ सेवा उपलब्ध हुनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै पाँच लाख रुपैयाँसम्मको उपचार सुविधा सुनिश्चित गरिनेछ । ७० वर्ष माथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।
शिक्षा क्षेत्र सुधारका लागि तपाईंको प्राथमिकता के हो ?
सामुदायिक विद्यालयलाई निजी विद्यालयसरह प्रतिस्पर्धी बनाउनुपर्छ । कक्षा १२ सम्म निःशुल्क शिक्षा सुनिश्चित गर्ने वातावरण बनाइनेछ । उच्च शिक्षामा, लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयका रूपमा विकास गर्ने योजना छ । साथै बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस र राममणि बहुमुखी क्याम्पस लगायत सामुदायिक क्याम्पसहरूको स्तरोन्नति गरिनेछ । प्राविधिक शिक्षामा जोड दिँदै इन्जिनियरिङ तथा अटो इन्जिनियरिङ कलेज सञ्चालन गरिनेछ, जसले दक्ष जनशक्ति उत्पादनमा मद्दत पु¥याउनेछ ।
तिलोत्तमा र सैनामैनालाई व्यवस्थित आधुनिक सहर बनाउने योजना पनि अगाडि सार्नुभएको छ नी ?
तिलोत्तमा र सैनामैनालाई हरित, सुरक्षित र प्रविधिमैत्री सहरका रूपमा विकास गरिनेछ । खानेपानी, ढल व्यवस्थापन, फोहोर प्रशोधन, सुरक्षित पार्किङ, ट्राफिक व्यवस्थापन र नदी किनार करिडोर निर्माणमा विशेष ध्यान दिइनेछ । तिनाउ र दानव नदीलाई स्वच्छ र आकर्षक बनाउँदै करिडोर निर्माण गरिनेछ । पुरानो बटौली क्षेत्रलाई हेरिटेज जोन घोषणा गरी पर्यटन प्रवद्र्धन गरिनेछ । यसले सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि दुबै बढाउनेछ ।
बुटवल, तिलोत्तमा र सैनामैनाबाहेकका ग्रामीण क्षेत्रका लागि योजना के छन् ?
ग्रामीण क्षेत्रलाई कृषि हबका रूपमा व्यवस्थित गरिनेछ । कृषिजन्य बसतुलाई सिधै उद्योगमा जोड्नेगरी काम गर्ने रणनीति मैले बनाएको छु । हामीले अहिले सञ्चालन गरेका उद्योगमा पनि किसानले उत्पादन गरेको अकवरे खुर्सानीको प्रयोग हुँदै आएको छ । विभिन्न २५ बढी देशमा निर्यात भईरहेको करेन्ट चाउचाउमा प्रयोग हुँदै आएको अकवरे खुर्सानी उत्पादनका लागि समुह बनाएर किसानलाई लगानी गरिएको छ । त्यस्तै प्रकारले कृषिमा किसानलाई प्रोत्साहन गर्ने र उत्पादित बस्तुको बजार सुनिश्चित गर्नेगरी व्यवस्थित कृषि तथा पशुपालन प्रणाली अवलम्बन गरिनेछ । सिँचाइ विस्तार, भूमिगत जल रिचार्ज, पकेट क्षेत्र निर्धारण, मल–बीउको सहज उपलब्धता र कृषि बीमा कार्यक्रम प्रभावकारी बनाइनेछ । कृषि उत्पादन बिक्री केन्द्र स्थापना गरिनेछ । कृषि तथा पशुपन्छी व्यवसायी केन्द्र स्थापना गरी किसानलाई प्रविधि र बजारसँग जोडिनेछ । ‘एक घर–एक रोजगार’ अवधारणाअनुसार कृषि र साना उद्योगमार्फत स्थानीय रोजगारी सिर्जना गरिनेछ । सडक विस्तार, वैकल्पिक मार्ग विकास, अन्तर्राष्ट्रिय बसपार्क निर्माण, पार्किङ व्यवस्थापन र चुरे संरक्षणमा जोड दिइनेछ । सार्वजनिक खरीद ऐन सुधार गरी निर्माण व्यवसायलाई प्रोत्साहन गरिनेछ । पारदर्शी कर प्रणाली, उद्योगमैत्री कानुनी व्यवस्था र एकद्वार प्रणाली लागू गरिनेछ । मजदुरलाई न्यूनतम ज्याला र सामाजिक सुरक्षा कोषमा आवद्ध गराइनेछ । सामाजिक रूपमा पछाडि परेका महिला, दलित, जनजाति, थारू, मधेशी, मुस्लिम, फरक क्षमता भएका र तेस्रो लिङ्गी समुदायको अधिकार सुनिश्चित गरिनेछ । प्रतिनिधिसभा सदस्य भएर प्राप्त हुने सेवा–सुविधा रकम स्वास्थ्य सुरक्षा कोषमा खर्च गर्ने मेरो प्रतिवद्धता छ ।
मतदातालाई तपाईको अन्तिम सन्देश के छ ?
रुपन्देही–२ लाई उद्योग, आईटी, शिक्षा, स्वास्थ्य र कृषि तथा पशुपालिको सन्तुलित र समुन्नत केन्द्र बनाउने स्पष्ट रोडम्यापसहित म चुनावी मैदानमा छु । विकासलाई व्यवहारमा उतार्न इमानदार प्रयास गर्नेछु । मतदाताको अमूल्य मत र विश्वासले यो सम्भव हुनेछ भन्ने विश्वास लिएको छु । म आम मतदातालाई नेपाली काँग्रेसको चुनाव चिन्ह रुपमा मतदान गरि मलाई विजयी गराउनुहुन अनुरोध गर्दछु । मलाई आशा र विश्वास छ, रुख चिन्हमा मत दिएर मलाई विजयी गराउनु हुनेछ ।


