२०८२ फाल्गुन १९
प्रलोभनमा पार्न खोजे प्रतिवाद गर्न आग्रह
बुटवल, १८ फागुन ।
रुपन्देही – २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुभाष’ले कसैको दबाब, डर र त्रास नमानी निर्धक्क मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई अपिल गरेका छन् ।
मौन अवधी सुरु हुनु केही घण्टाअघि आज सोमबार मतदाताका नाममा एक अपिल जारी गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार बिश्वदीपले निर्वाचन आयोगलाई पनि भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने वतावरण बनाउन आग्रह गरेका छन् ।
‘निर्वाचन आचारसंहिताका कारण रुपन्देही–२ मा चलिरहेको घरदैलो अभियान अबका केही घण्टामा सकिँदैछ र मौन अवधि शुरु हुँदैछ,’ उनले अपिलमा भनेका छन्, ‘तर तपाईंहरूको दुःख–सुखमा साथ दिने हाम्रो प्रतिबद्धता भने अब सुरु भएको छ । यद्यपि निर्वाचनको मौनअवधिमा हुनसक्ने चलखेललाई रोक्ने जिम्मेवारी तपाईंहरूको पनि हो । यसमा विशेष निगरानी गर्नुहोला ।’
उम्मेदवार पाण्डेले मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीत कुनै लोभ, लालच र प्रभावमा पार्न आए सशक्त प्रतिवाद गर्न मतदातालाई आग्रह गरेका छन् । निर्वाचनको प्रचारप्रसार कार्य आज राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले यसअघि नै गरिसकेको छ ।
रुपन्देही–२ का उम्मेदवार बिश्वदीपले निर्वाचन स्वतन्त्र, निष्पक्ष, तटस्थ एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व निर्वाचन आयोगको रहेको भन्दै त्यस्तो कार्यमा सघाउन आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको अपिलमा उल्लेख गरेका छन् ।
‘यो निर्वाचन सामान्य निर्वाचन होइन, मतपेटिकामा खस्ने मतले मूलुकलाई अगाडि लैजाने कि यथास्थितिमै राख्ने भन्ने फैसला गर्दैछ,’ उनले भनेका छन, ‘त्यसैले यतिबेला तपाईंहरू केवल मतदाता मात्रै होइन, जेनजी आन्दोलनको मर्म बुझेको र साक्षि बसेको नागरिक पनि हो । सोही मर्मको जगमा मेरो चुनाव चिन्ह तारामा मतदान गर्न हार्दिक अपिल गर्दछु ।’
उनले जनपक्षीय युवा नेतृत्वलाई निर्णय प्रक्रियामा प्रत्यक्ष हिस्सेदार बनाउने ऐतिहासिक अवसर आएको उल्लेख गर्दै मतदानमार्फत फागुन २१ लाई देशको भविष्यको खाका कोर्ने दिनको रूपमा परिणत गर्न आग्रह गरेका छन् ।
‘यो सामान्य निर्वाचन होइन, विशेष परिस्थितिमा हुन लागेको महत्वपूर्ण निर्वाचन हो । देशलाई निकास दिन, लोकतन्त्रलाई सुदृढ र नागरिकलाई बलियो बनाउन तथा समाजलाई विकास र समृद्ध तुल्याउन कुनै प्रलोभनमा नपरी योग्य उम्मेदवारको छनोट गर्नै पर्दछ । त्यसका लागि तारा चुनाव चिन्हमा मतदान गर्न म सम्पूर्ण मतदातालाई अपिल गर्दछु,’ उनले भनेका छन् ।