२०८२ चैत्र ११

खसोखासका प्रधानसम्पादक पन्थीलाई ५० हजार राशिको ‘विशिष्ट सञ्चार सेवा पुरस्कार’
  • लुम्बिनी खोज
  • २०८२ चैत्र ११, बुधबार १२:५३ गते

काठमाण्डौं ११ चैत ।
सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै आएका खसोखास डटकमका प्रधान सम्पादक किशोर पन्थीलाई यस वर्षको ‘रामगीता विशिष्ट संचार सेवा पुरस्कार’ बाट सम्मानित गरिने भएको छ। अमेरिकास्थित नेपाली साहित्यिक तथा सामाजिक संस्था रामगीता बाङ्मय मन्दिरले पन्थीले लामो समयदेखि पत्रकारिताको माध्यमबाट समाजलाई पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ।
यस पुरस्कारको राशि ५०,००० (पचास हजार) नेपाली रुपैयाँ नगद र सम्मानपत्र रहेको छ। अमेरिकामा रहेर पनि नेपाली पत्रकारितालाई विश्वव्यापी बनाउन र प्रवासमा रहेका नेपालीहरूका मुद्दालाई सशक्त रूपमा उठाउन पन्थीले निर्वाह गरेको नेतृत्वदायी भूमिकाका कारण उनलाई यो सम्मानका लागि चयन गरिएको आयोजक संस्थाले जनाएको छ।
पुरस्कार वितरणका लागि आगामी वि।सं। २०८३ साल वैशाख १२ गते काठमाडौँमा एक विशेष समारोहको आयोजना गरिने भएको छ। सोही समारोहबीच पन्थीलाई नगद राशि र सम्मानपत्र हस्तान्तरण गरिने अध्यक्ष गीता खत्रीले जानकारी दिएकी छिन् । रामगीता बाङ्मय मन्दिरले नेपाली भाषा, साहित्य र सञ्चारको श्रीवृद्धिमा अहोरात्र खट्ने व्यक्तित्वहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न विधामा सम्मान प्रदान गर्दै आएको छ ।
खसोखास प्रधानसम्पादक किशोर पन्थी विगत साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सकृय छन् । पन्थीले विशेषगरी न्यूयोर्कलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउँदै विगत १५ वर्षदेखि अमेरिकी नेपाली डायस्पोरामा प्रभावशाली भूमिका निर्वाह गरिरहेका छन् । नेपालमा रहँदा सगरमाथा र एबीसी टेलिभिजन नेपालमा सम्पादक र कार्यक्रम संचालकका रुपमा काम गरेका उनले हालसम्म तीनवटा पुस्तकहरू समेत लेखिसकेका छन् ।
उनी न्युयोर्कबाट प्रकाशित हुने नेपयोर्कका समेत प्रधानसम्पादक हुन् । उनले लामो समय नेपालमा समेत रेडियो र छापा पत्रकारितामा सम्पादकको भूमिकामा काम गरेका थिए । उनले सन् २०१२ देखि २०१४ सम्म नेपाली अमेरिकन पत्रकार संघ (नेजा) को महासचिवको रूपमा नेतृत्व प्रदान गरेका थिए भने भने सन् २०२३ मा उनलाई अमेरिकाको सोसाइटी अफ प्रोफेशनल जर्नालिस्टले ’डाइभर्सिटी लिडरशिप फेलो’का रूपमा चयन गरेको थियो ।