२०८१ कार्तिक ३०

विश्व रेडक्रस दिवसमा दीप स्कुलमा कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ बैशाख २५, आईतवार १८:२९ गते

बुटवल ।
युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कुलले आइतबार विश्व रेडक्रस दिवसको अवसरमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वयम्सेवा, एकता, सर्वव्यापकता जस्ता रेडक्रसका सात सिद्धान्तको प्रतीकात्मक रूपमा सात वटा मैन बालेर दीप प्रज्ज्वलन गरिएको थियो भने जाँ हेनरी ड्युनाको फोटोमा माल्यार्पण गरिएको थियो ।
मानवीय सेवा र परोपकारको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अन्तर्राष्ट्रिय संस्था रेडक्रसले ‘परोपकारको शक्तिमा विश्वास’ भन्ने नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विद्यालयका उप प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यले रेडक्रसको स्थापना, यसका उद्देश्य र रेडक्रसका गतिविधिका बारेमा मन्तव्य दिनुभएको थियो भने प्राचार्य टीकाराम न्यौपानेले दीप युवा रेडक्रस सर्कलले विगतमा जिल्लामै उदाहरणीय काम गरी उत्कृष्ट हुन सफल भएको र आगामी दिनमा पनि सोही अनुरुपका गतिविधि र मानवसेवामा समर्पित काम गर्न र त्यसका लागि विद्यालयले सम्पूर्ण सहयोग गर्ने बताएका थिए ।
युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कुलकी अध्यक्ष आरभी आचार्यको अध्यक्षता, प्राचार्य टीकाराम न्यौपानेको प्रमुख आतिथ्यता, उपप्राचार्य द्वय कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, शिक्षक नायक विजय सापकोटा, सह शिक्षक नायक पुरुषोत्तम पाण्डेयको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुचिता मल्लले रेडक्रसका सिद्धान्त पाठ गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन युवा पूजा खनालले गरेकी थिइन् ।