२०८२ चैत्र १९
स्वरोजगार तर्फ उन्मुख गराउन मद्दत पुग्ने विश्वास
बुटवल १८ चैत ।
बुटवल स्थीत नवीन औद्योगिक कदरवहादुर रिता माविले लोकसंस्कृतिको जर्गेना गर्न विद्यार्थीहरुलाई पञ्चेबाजा प्रशिक्षण शुरु गरेको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरु तालिममा सहभागि छन् ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले तालिमका लागि ४५ जना विद्यार्थी इच्छुक भएपनि इच्छुक विद्यार्थीहरु मध्ये पहिलो चरणमा १५ जनालाई सहभागि बनाएको बताए । प्रशिक्षणका लागि आवश्यक बाजा जुटाएर तालिम शुरु गरिएको भन्दै उनले आगामी दिनमा थप विद्यार्थीलाई सहभागि गराउदै प्रशिक्षणलाई निरन्तरता दिर्दै जाने बताए । विद्यालयले पढाईका साथसाथै अतिरिक्त क्रियाकलापमा पनि जोड दिदै आएको भन्दै उनले यस किसिमको कार्यक्रमले विद्यार्थीहरुलाई स्वरोजगार तर्फ उन्मुख हुनका लागि योगदान पुग्ने बताए । विद्यार्थीहरुको पढाइमा अवरोध नहुने गरी प्रशिक्षण शुरु गरिएको उनले बताए ।
प्रशिक्षक अनिल पहाडीले १५ दिनको यस प्रशिक्षणमा चार वटा तालका बारेमा जानाकारी गराइने बताए । नगरा ताल, मंगल धुन, रमाइलो ताल (तीन ताल) र सराय ताल(सराय नाच) का बारेमा विद्यार्थीहरुलाई प्रशिक्षित गरिने उनले बताए ।
बुटवल स्थीत नवीन मावि सामुदायीक तर्फ मुलुककै अब्बल शैक्षिक सस्था मध्येमा पर्दछ । यहा ५ हजार १ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

