२०८२ असार ८
बुटवल ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बुटवल उपमहानगरपालिका— १३ मा र्याली निकालेको छ ।
आफ्ना उम्मेदवारलाई जिताउन मतदातासँग आग्रह गर्दै बुटवलको जितगढीदेखि र्याली निकालिएको हो । र्यालीले झोलुङ्गेपुल, बेलवास, नयागाउँ, बोहोरा कलौनी, पहेलो भित्ता, सुन्तली चोक, सालघारी, बदेँलपोखरी लगायत वडाका विभिन्न स्थान हुँदै पितृथानमा पगेर समापन भएको एमाले जिल्ला कमिटी सदस्य जमुना सुवेदीले जानकारी दिए । र्यालीलाई वडाका स्थानीयले चोकचोकमा स्वागत गर्दै जितको शुभकामना दिएका थिए ।
र्यालीलाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बुटवलको विकासका लागि एमाले नेतृत्वको विकल्प नभएको बताए । बुटवलमा सञ्चालित योजनालाई पूर्णता दिन र नयाँ योजना शुरु गरेर यो क्षेत्रको मुहार फेर्न एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
एमाले नेता कुमार थापाले समृद्ध बुटवलको चाहना पूरा गर्न एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरे ।
अर्का निर्वाचन परिचालन कमिटी बुटवल १३ का संयोजक मधुकला कुँवरले अघिल्लो निर्वाचनमा वडाध्यक्षमा पराजित हुँदा विकासमा पछाडि परेको जनाउँदै अहिलेको निर्वाचनमा जसरी पनि जित हासिल गर्न आवश्यक रहेको बताए ।
एमालेका वडाध्यक्षका उम्मेदवार शोभाखर पोखरेलले वडालाई विकासको नमूना बनाउन एमालेको नेतृत्व आवश्यक रहेको बताए । एमालेले वडा नं १३ मा जनमुक्ति पार्टीसँग सहकार्य गरेको जनाउँदै चार जना एमालेका उम्मेदवार र एक जना जनमुक्तिका उम्मेदवारलाई मतदान गरी विजयी बनाउन उनले अनुरोध गरे ।
र्यालीपिछि आयोजित सभामा निर्वाचन परिचालन कमिटी सह संयोजक योग गुरुङ, युवा नेता सरोज पोखरेल लगायतले बोल्दै एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका थिए ।