२०८३ बैशाख २१
बुटवल २० बैशाख ।
नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठद्वारा लिखित ‘अठोट’ पुस्तकको आइतबार बुटवलमा लोकार्पण गरिएको छ । बुटवलका पूर्व नगरप्रमुख तथा लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्रीसमेत रहेका श्रेष्ठको पूस्तकमा उनको संकल्प, सपना, संघर्षका विषय वस्तुहरु समेटिएको छ । बालक भोजप्रसाद देखिपढाई लेखाई तथा राजनीतिक यात्रा, समाजसेवामा उनले खेलेका भुमिकाहरु पुस्तकमा चर्चा गरिएको छ ।
२०५१ सालमा सुकुम्बासी समस्या समाधान आयोगको रुपन्देहीको नेतृत्वमा रहेर काम गर्दाका अनुभव तथा बुटवलको जननिर्वाचित नगर प्रमुखका रुपमा खेलेको भुमिका देखि धेरै विषयवस्तु समेटिएको पुस्तकका बारेमा लोकापर्ण समारोहमा चर्चा गरिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विगत दशकमा मुलुकको विकास र समृद्धिमा उल्लेख्य प्रगति भएको दाबी गर्दै पुस्तकका लेखक भोजप्रसाद श्रेष्ठले विगतमा खेलेको भुमिकाको प्रशंसा गरे । ‘नगर प्रमुख रहँदा उहाँले देशकै ध्यान आकर्षित गर्ने गरी काम गर्नुभयो । नतिजा दिने नेताको रूपमा उहाँ स्थापित हुनुभएको छ,’उनले भने,‘भोजप्रसाद श्रेष्ठको अनुभव र क्षमतालाई सही ढंगले उपयोग गर्न सके लुम्बिनी प्रदेशलाई ठूलो लाभ पुग्छ ।’ उनले ‘अठोट’ पुस्तकलाई प्रेरणादायी कृति भएको उल्लेख गर्दै विशेषगरी युवा पुस्ताले यस्ता कृतिबाट सिकेर अघि बढ्नुपर्ने धारणा राखे ।
पुस्तकका लेखक भोजप्रसाद श्रेष्ठले पुस्तक लेख्दाको स्मरण, समिक्षकहरुले गरेको विश्लेषणलगायतका विषयमा धारणा राखेका थिए ।
प्रगतिशील लेखक संघ रुपन्देहीद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरु तथा समिक्षकहरुले पुस्तकको विभिन्न कोणबाट चर्चा गरेका थिए । गिरि श्रीष, डीआर घिमिरे, माधव पौडेलले पुस्तकको समिक्षा गर्दै भोजप्रसादले गरेको योगदान तथा पुस्तकका बारेमा धारणा राखेका थिए । कार्यक्रममा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कडेल, कांग्रेसका युवराज गिरि, बुटवलका पूर्व उपप्रमुख विमलवहादुर शाक्य, साहित्यकार तथा लेखकहरु डाक्टर मुराली पराजुली, ज्ञानु केसी, युवराज घिमिरे, कृष्ण गाउलेलगायतले पुस्तक तथा लेखककका बारेमा चर्चा गरेका थिए ।
