२०८३ जेष्ठ १७

प्रदूषण नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८३ जेष्ठ १६, शनिबार १५:५१ गते

बुटवल, १६ जेठ ।
प्लास्टिकको बढ्दो प्रयोगसँगै प्रदूषण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ । प्रदूषण नियन्त्रणका लागि प्लास्टिकको प्रयोग घटाउनुपर्ने तथा कुलो–कुलेसा र सहरको प्रदूषण नियन्त्रणमा सबै लाग्नुपर्नेमा जोड दिइएको छ ।

पर्यावरण संरक्षण समाज नेपाल, बुटवलको आयोजनामा शनिबार बुटवलमा आयोजित सचेतनामूलक कार्यक्रममा सहभागीहरूले बुटवलको प्रदूषण नियन्त्रणका लागि सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बुटवलको सन्दर्भमा विशेषगरी सोह्र–छत्तिस कुलोमा हुने फोहोरले बुटवल मात्र नभई तिलोत्तमा क्षेत्रको वातावरणमा समेत असर पारेको भन्दै चिन्ता व्यक्त गरिएको छ । तिनाउमा मुहान रहेको उक्त कुलोमा बुटवलबासीले जथाभावी फोहोर फाल्दा कुलो प्रदूषित बनेको र त्यहाँको फोहोर तिलोत्तमा क्षेत्रमा समेत पुग्दा किसान तथा स्थानीय बासिन्दा प्रभावित बन्नुपरेको विषय उठाइएको थियो ।

कुलो सफा राख्न बुटवलबासी सचेत बन्नुपर्ने, सरसफाइका लागि बुटवल उपमहानगरपालिकाले विशेष सक्रियता देखाउनुपर्ने तथा यसमा सबैले सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा पनि जोड दिइयो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई स्वच्छ र सफा राख्न उपमहानगरपालिका निरन्तर लागिपरेको बताइन् । उनले सोह्र–छत्तिस कुलो सफाइ अभियानमा संलग्न अभियन्ताहरूको प्रशंसा गर्दै आफू सधैँ अभियानको साथमा रहने बताइन् । यसका लागि उपमहानगरपालिकाका तर्फबाट आवश्यक सहयोग रहने उल्लेख गर्दै आफू पनि अभियन्ताहरूसँगै खटिन तयार रहेको उनले बताइन् ।

पर्यावरण संरक्षण समाज नेपाल, बुटवलकी अध्यक्ष गंगा पोखरेलले प्लास्टिकको बढ्दो प्रयोगले वातावरणमा नकारात्मक असर पारिरहेको भन्दै प्लास्टिकको प्रयोग निरुत्साहित गर्न तथा सरसफाइप्रति चेतना जगाउन कार्यक्रम आयोजना गरिएको बताइन् ।

कार्यक्रममा सरसफाइ अभियान सञ्चालन गर्दै आएकी इको यात्रुकी अध्यक्ष प्रकृति पोखरेल तथा कानुन युवा पर्यावरण अभियन्ता मनिषा पाण्डेले सरसफाइ अभियानका अनुभव सुनाउँदै प्रदूषणले पार्ने असरबारे सबै सचेत बन्नुपर्ने र प्रदूषण न्यूनीकरणमा लाग्नुपर्ने बताएका थिए ।

त्यस्तै, समाजका उपाध्यक्ष अर्जुन ज्ञवालीले वातावरण प्रदूषणले निम्त्याएका जोखिमबारे चर्चा गरेका थिए । कोषाध्यक्ष बनिका भण्डारीले प्रदूषण नियन्त्रणका लागि संस्थाले खेलेको भूमिकाबारे चर्चा गर्दै सबै मिलेर सफा र स्वच्छ वातावरण निर्माणमा जुट्नुपर्ने धारणा राखिन् ।

रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, उद्योग व्यापार संघका लोकनाथ पन्थी, पत्रकार बालकृष्ण चापागाईं तथा बागेश्वरी संगीतालयका सञ्चालक सुरेश सेन्चुरीलगायतले बढ्दो प्लास्टिक प्रयोगप्रति चिन्ता व्यक्त गर्दै प्रदूषण नियन्त्रणमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पर्यावरण संरक्षण समाज नेपालकी अध्यक्ष गंगा पोखरेलको शब्द रचना तथा बागेश्वरी संगीतालयका सञ्चालक सुरेश सेन्चुरीको संगीत संयोजन (एरेन्ज) र स्वर रहेको वातावरणसम्बन्धी चेतनामूलक गीतको लोकापर्णसमेत गरिएको थियो ।