२०८३ असार १३

नवीनमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको अभिमुखीकरण सम्पन्न
  • लुम्बिनी खोज
  • २०८३ असार १२, शुक्रबार १२:१४ गते

बुटवल, १२ असार ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगर, बुटवलमा व्यवस्थापन समूहअन्तर्गत होटल व्यवस्थापन, कानुन तथा शिक्षा समूहमा कक्षा ११ मा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि विद्यालयको वातावरण र व्यक्तिगत मेहनत दुवै महत्वपूर्ण हुने बताए। उनले समाजमा भइरहेका गतिविधि र क्रियाकलाप सही छन् वा छैनन् भन्ने मूल्यांकन गर्दै पहिले आफू सचेत र जिम्मेवार बन्न आवश्यक रहेको उल्लेख गरे।
उनले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण धेरै युवा कुलतमा फस्ने, डिप्रेसनमा जाने तथा लागूऔषध सेवनपछि सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने बताए। समाजमा रहेका विकृति र विसङ्गति हटाउन विद्यार्थीहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।

डेडीज किचन का डाइरेक्टर कमल जंग कुँवर ले कुनै पनि कामलाई सानो वा ठूलो नभनी अनुशासित र निरन्तर रूपमा लागिरहनुपर्ने बताए। समाजले के भन्छ भन्दा पनि आफूले के गर्ने र के बन्ने भन्ने स्पष्ट लक्ष्य लिएर दीर्घकालीन रूपमा अघि बढेमा प्रत्येक व्यक्ति सफल बन्न सक्ने उनको भनाइ थियो।

विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत ले विद्यालयको भौतिक, आर्थिक, व्यवस्थापकीय तथा शैक्षिक पक्षसँग सम्बन्धित विषयमा धारणा राखेका थिए। सहायक प्रधानाध्यापक अर्जुन खनाल ले विद्यार्थी आचारसंहिता–२०८३, अनुशासन, पठनपाठन तथा परीक्षासम्बन्धी विषयमा सहजीकरण गरेका थिए।

रामचन्द्र क्षेत्री को अध्यक्षतामा सम्पन्न कार्यक्रम कक्षा १२ व्यवस्थापन समूहकी विद्यार्थी ऋतिका चौधरी ले सञ्चालन गरेकी थिइन्।