२०८३ असार २७
बुटवल २७ असार ।
लुम्बिनी प्रदेशमा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक लाई नगदसहित सम्मान गरिएको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिबार आयोजित कार्यक्रममा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडी, प्रशिक्षक तथा म्यानेजर गरी एक सय पाँच जनालाई सम्मान गरिएको हो । प्रतियोगितामा लुम्बिनी प्रदेश समग्रमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।
कार्यक्रममा स्वर्ण पदक विजेता प्रत्येक खेलाडीलाई ११ हजार रुपैयाँ, रजत पदक विजेतालाई ९ हजार रुपैयाँ र कास्य पदक विजेतालाई ६ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । सम्मानित सबैलाई खादा, अविर र सम्मानपत्र समेत प्रदान गरिएको परिषद्ले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले खेलाडीको मनोबल उच्च बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले खेल क्षेत्रको विकाससँगै खेल पर्यटनको प्रवद्र्धन गर्न सके प्रदेशको आर्थिक तथा सामाजिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमले राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशको पहिचान राष्ट्रिय स्तरमा स्थापित गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकप्रति आभार व्यक्त गरे । उनले आगामी प्रतियोगितामा अझ उत्कृष्ट नतिजा हासिल गर्न परिषद्ले आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने बताए ।
गत जेठ २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडीले १२ स्वर्ण, १५ रजत र १८ कास्य पदक जित्दै समग्रमा तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दो, उसुलगायत विभिन्न विधामा लुम्बिनीका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
