२०८३ श्रावण १६
बुटवल, १६ साउन ।
समाजसेवा, शिक्षा र मानवीय सेवाको अनुपम उदाहरण बनेका कर्मयोगी समाजसेवी गणेशमान सैजुको ९४औँ तथा समाजसेवी कृष्णप्यारी सैजुको ९३औँ जन्मजयन्ती बुटवलमा विविध सामाजिक तथा सम्मान कार्यक्रमका साथ मनाइएको छ ।
कार्यक्रममा ‘गणेशमान–कृष्णप्यारी ः एक युगको चिनारी’ नामक जीवनगाथामा आधारित वृत्तचित्र सार्वजनिक गरिनुका साथै प्रतिष्ठित पुरस्कार, छात्रवृत्ति र विभिन्न सामाजिक अभियानका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
विश्व हिन्दु महासंघ नेपाल, रुपन्देही, नवजागृति पुस्तकालय, श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रम तथा गणेशमान–कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्ट) को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले सैजु दम्पतीको समाजसेवा, शिक्षा र मानवीय मूल्यप्रतिको समर्पणलाई अनुकरणीय उदाहरणका रूपमा स्मरण गरे । उनीहरूको जीवनयात्राले समाजलाई सकारात्मक परिवर्तनतर्फ डो¥याएको वक्ताहरूको भनाइ थियो ।
प्रतिष्ठानद्वारा आयोजित १३औँ गणेश–कृष्ण पुरस्कार समारोहमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका पाँच व्यक्तित्वलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा वरिष्ठ चिकित्सक डा. तरुण पौडेल, वरिष्ठ गायिका मथुरा प्रधान श्रेष्ठ, डा. नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकार देवेन्द्रराज शाक्य तथा समाजसेवी रोशनकुमार थापा रहेका छन् । उनीहरूलाई विशेष सम्मानसहित अभिनन्दन गरिएको थियो ।
प्रतिष्ठानका संरक्षक समाजसेवी अनुपमान सैजुले समाजसेवाको परम्परालाई निरन्तरता दिने उद्देश्यले जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुका साथै विपन्न बालबालिकाको शिक्षाका लागि स्थापना गरिएको शिक्षा अक्षयकोषमा सहयोग हस्तान्तरण गरिएको जानकारी दिए ।
कार्यक्रममा विभिन्न सामाजिक, धार्मिक तथा मानवीय अभियानलाई समेत आर्थिक सहयोग प्रदान गरिएको थियो । पाल्पाली समाज नेपाल, रुपन्देहीद्वारा निर्माणाधीन उजिरसिंह पौवाका लागि १० हजार ११५ रुपैयाँ, देवघाटधाम संरक्षण प्रतिष्ठान, चितवनलाई अष्टधातुको शिवमूर्ति तथा गौमुखी जलधारा निर्माणका लागि ५१ हजार १११ रुपैयाँ, कीर्तिपुर अस्पतालको जलन उपचार अक्षयकोषमा १० हजार ११५ रुपैयाँ सहयोग गरिएको छ ।
त्यसैगरी ‘भाग्य बोक्ने झोला’ अभियान सञ्चालन गरिरहेको पहिलो पाइला नेपाल, बुटवल शाखालाई ५ हजार रुपैयाँ तथा सोही संस्थाको शिक्षा अक्षयकोषमा २५ हजार ११० रुपैयाँ प्रदान गरिएको छ । बहिरा बाल माध्यमिक विद्यालय, रुपन्देहीका छात्रा सरस्वती कुँवर (कक्षा–२) र छात्र रेमन राना (कक्षा–४) लाई जनही ५ हजार १५० रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो ।
सो अवसरमा ‘नवजागृति बुलेटिन’ को १४४औँ अंक र ‘ॐ ज्ञानज्योति’ को ११५औँ अंक विमोचन गरिएको थियो । कार्यक्रममा विभिन्न स्रष्टाहरूले कविता वाचन गर्दै सैजु दम्पतीको समाजसेवी व्यक्तित्वप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गणेशमान सैजुले शिक्षा, समाजसेवा र मानवीय सेवाका क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताए । उनले निस्वार्थ सेवाभावले समाज परिवर्तनमा लाग्ने व्यक्तित्वहरू सधैं भावी पुस्ताका लागि प्रेरणाका स्रोत बन्ने उल्लेख गरे ।
विश्व हिन्दु महासंघ नेपाल, रुपन्देहीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवलका पूर्व प्रमुख पुनराम पोखरेल, विश्व हिन्दु महासंघका वेनवहादुर पौडेलले सैजु दम्पतीले समाजमा पुयाएको योगदानका बारेमा चर्चा गरेका थिए । बुद्धिजीवी, समाजसेवी, धार्मिक अगुवा, शिक्षाविद् तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले समाजसेवा केवल सम्झिने विषय नभई पुस्तान्तरण गर्नुपर्ने मूल्य र संस्कार भएको सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।









