२०८३ भाद्र ९

राममणिमा अन्तर्राष्ट्रिय सम्मेलनः चार देशका ३० कार्यपत्र प्रस्तुत
  • लुम्बिनी खोज
  • २०८३ भाद्र ८, सोमबार १३:५६ गते

बुटवल, ८ भदौ ।

रूपन्देहीको मणिग्राममा आयोजित दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित चार देशका अनुसन्धानकर्ताले ३० वटा कार्यपत्र प्रस्तुत गरेका छन् । सामाजिक विज्ञान, शिक्षा तथा शिक्षण विधि, अर्थशास्त्र तथा व्यवस्थापन, कला, साहित्यलगायतका विषयमा प्रस्तुत कार्यपत्रमाथि विज्ञ तथा सहभागीबीच गहन छलफल र विवेचना गरिएको छ ।

अनुसन्धान व्यवस्थापन समिति, राममणि बहुमुखी क्याम्पस, मणिग्रामको आयोजनामा भएको सम्मेलन ‘सामाजिक विज्ञानका उदीयमान दृष्टिकोण तथा शैक्षिक अवसरहरूः उत्कृष्टताको खोजीमा’ भन्ने मूल विषयमा केन्द्रित थियो ।

क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीका अनुसार बदलिँदो सामाजिक परिवेश, शिक्षा र अनुसन्धानका नयाँ आयाम तथा प्राज्ञिक अवसरका विषयमा अन्तर्राष्ट्रिय स्तरमा ज्ञान आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

तीन विधामा ३० कार्यपत्र

सम्मेलनको दोस्रो दिन आइतबार अर्थशास्त्र तथा व्यवस्थापन, शिक्षा तथा शिक्षण विधि र समाजशास्त्र, कला तथा साहित्य गरी तीन क्षेत्रमा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्र प्रस्तुतिपछि सहभागी तथा विज्ञका जिज्ञासा, टिप्पणीकर्ताका सुझाव र सम्बन्धित सत्रका सभाध्यक्षबाट आवश्यक निर्देशनसमेत दिइएको अन्तर्राष्ट्रिय सम्मेलनका संयोजक डा. अशोक भण्डारीले बताए ।

अर्थशास्त्र तथा व्यवस्थापनतर्फ प्रा.डा. प्रकाश श्रेष्ठको अध्यक्षता तथा प्रा.डा. बाबुराम ज्ञवाली र प्रा.डा. गणेशप्रसाद पाठकको टिप्पणीमा सत्र सञ्चालन भएको थियो । उक्त सत्रमा १३ वटा कार्यपत्र प्रस्तुत गरिएको सत्र सञ्चालक कृष्णकुमार रेग्मीले जानकारी दिए ।

त्यस्तै, समाजशास्त्र, कला तथा साहित्यतर्फ भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका प्रा.डा. अनुराग द्विवेदीको अध्यक्षता तथा उपप्राध्यापक डा. शालिकराम पौडेलको टिप्पणीमा सत्र सञ्चालन भएको थियो । उक्त सत्रमा विभिन्न विश्वविद्यालय तथा क्याम्पसका तर्फबाट आठवटा कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको उपप्राध्यापक नोवराज तिवारीले बताए ।

शिक्षा तथा शिक्षण विधितर्फ सह–प्राध्यापक डा. खुमप्रसाद शर्माको अध्यक्षता तथा उपप्राध्यापक लक्ष्मणप्रसाद भण्डारीको टिप्पणीमा सत्र सञ्चालन भएको थियो । उक्त क्षेत्रमा विभिन्न देशका विश्वविद्यालय तथा क्याम्पसका तर्फबाट नौवटा कार्यपत्र प्रस्तुत गरिएको सत्र सञ्चालक जीवनकुमार पौडेलले जानकारी दिए ।

अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता

क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालको सभापतित्वमा भएको सम्मेलनको समापन समारोहमा त्रिभुवन विश्वविद्यालयका सहायक डीन प्रा.डा. दिलीप पराजुलीले अनुसन्धानका क्षेत्रमा आवश्यक सहयोग गर्न आफूहरू सदैव तयार रहेको बताए ।

उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको समापन सत्रमा यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद पौडेल, प्राध्यापक संघका सभापति राजेन्द्र थापा, भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका कार्यपत्र प्रस्तोता उपप्राध्यापक डा. विनयकुमार गुप्ता तथा उर्लाबारी बहुमुखी क्याम्पस, मोरङका उपप्राध्यापक विष्णु मगरलगायतले सम्मेलनले प्राज्ञिक उन्नयनमा नयाँ अध्याय थपेको बताए ।

तीन देशका विज्ञको मुख्य प्रस्तुति

यसअघि शनिबार सम्मेलनको उद्घाटनलगत्तै तीन देशका तीन मुख्य वक्ताले अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी दुईवटा विशेषज्ञ समूह छलफलसमेत आयोजना गरिएको थियो । सम्मेलनमा अनुसन्धानका विविध विषयमा देश तथा विदेशका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीबीच विचार आदानप्रदान भएको थियो । सम्मेलनमा सामाजिक विज्ञान, शिक्षाशास्त्र, व्यवस्थापन तथा उच्च शिक्षाका क्षेत्रमा देखिएका नयाँ प्रवृत्ति, अनुसन्धानका सम्भावना र शैक्षिक उत्कृष्टताका लागि आवश्यक अवसरबारे अन्तर्राष्ट्रियस्तरमा ज्ञान तथा अनुभव आदानप्रदान गरिएको आयोजक क्याम्पस राममणिका उपप्राध्यापक मुक्तिनाथ गैह्रेले बताए ।

सम्मेलनका क्रममा राममणि बहुमुखी क्याम्पसका विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत दिएका थिए । क्याम्पसका लेखाप्रमुख विष्णुप्रसाद भुसालका अनुसार सांस्कृतिक कार्यक्रमले सम्मेलनलाई थप आकर्षक बनाएको थियो ।