२०८३ भाद्र २१
बुटवल २१ भदौ ।
लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान व्यवस्थालाई व्यवहारिक बनाउन माग गरेका छन्। उनीहरूले अन्य प्रदेशमा जस्तै अस्पताल नवीकरणको अवधि बढाएर अनावश्यक झन्झटबाट मुक्त गराउन सरकारसँग आग्रह गरेका हुन्।
बुटवलमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनसँग भएको भेटमा निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको अवधि हालको तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्नुपर्ने माग राखेका छन्। नियमनकारी निकायले आवश्यकताअनुसार जुनसुकै समयमा अनुगमन गर्न सक्ने भएकाले नवीकरणको अवधि बढाउन उपयुक्त हुने उनीहरूको तर्क छ।
निजी अस्पताल सञ्चालकहरूले नवनियुक्त स्वास्थ्य मन्त्री पुनलाई कार्यकालको शुभकामना दिँदै निजी स्वास्थ्य क्षेत्रसँग समन्वय गरेर देखिने गरी सुधारका काम अघि बढाउन आग्रह गरेका छन्।
उनीहरूले निजी क्षेत्रका स्वास्थ्यकर्मी तथा जनशक्तिका लागि तालिमको व्यवस्था गर्नुपर्ने, अस्पतालजन्य फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले सहजीकरण गर्नुपर्ने लगायतका विषयमा समेत ध्यानाकर्षण गराएका छन्।
भेटका क्रममा निजी अस्पतालहरूको संस्था अफिन लुम्बिनीका अध्यक्ष भीमप्रसाद तुलाचनले स्वास्थ्य मन्त्री पुनको कार्यकाल सफलताको शुभकामना दिँदै सरकारले निजी क्षेत्रलाई समेत सँगसँगै लिएर अघि बढेमा स्वास्थ्य क्षेत्रमा सकारात्मक परिणाम हासिल गर्न सकिने बताए।
तुलाचनले विद्यमान कानुनमा रहेका केही अव्यावहारिक प्रावधान संशोधन गरी निजी अस्पताललाई सहजीकरण गर्नुपर्नेमा जोड दिए। निजी क्षेत्र सरकारको प्रतिस्पर्धी नभई सहयोगीका रूपमा काम गर्न तयार रहेको उनको भनाइ थियो।
कार्यक्रममा अफिनका निवर्तमान अध्यक्ष रामप्रसाद खरेल, केन्द्रीय सदस्य अर्जुन पौडेल तथा अस्पताल सञ्चालकहरू बाबुराम भट्टराई, गोविन्द खनाल, चिरञ्जीवी जोशी, लोकनाथ भुसाल, वीरु भण्डारी, बसन्त जिसी, सरस्वती पन्थी, रमेश सिटौला लगायतले धारणा राखेका थिए।
सो अवसरमा स्वास्थ्य मन्त्री पुनले आफू पदमा रहँदासम्म सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै निजी स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिने बताए।
राज्यले गर्न नसकेका कतिपय काम निजी क्षेत्रले गरिरहेको उल्लेख गर्दै मन्त्री पुनले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताए। कानुनी तथा व्यवहारिक जटिलता देखिएमा आवश्यक अध्ययन गरी समाधानका लागि पहल गर्ने उनको भनाइ थियो।
मन्त्री पुनले स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले जिल्लाजिल्लाबाट सुझाव संकलन तथा अध्ययनको कामसमेत अघि बढाइरहेको जानकारी दिए।

