२०८३ भाद्र १६
बुटवल १६ भदौ ।
नारायणी नदीमा भेटिएका शवहरूको व्यवस्थापन नवलपरासी पश्चिममा सुरु गरिएको छ। १७० शवमध्ये चारजनाको सनाखत हुँदा ६८ शवको व्यवस्थापन गरिएको छ। बाँकी ९८ शवको सनाखत तथा व्यवस्थापन हुन बाँकी रहेको छ। यी शवको पनि व्यवस्थापनको आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
पश्चिम नवलपरासीस्थित नारायणी नदीमा भेटिएका १७० वटा शवमध्ये डिएनए संकलन गरी ६८ वटा शव सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए।
यहाँ भेटिएका शवहरूमध्ये १६ वटा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल तथा पाँचवटा शव कपिलवस्तुको अस्पतालमा समेत राखिएको छ। बाँकी शवहरूको व्यवस्थापनका लागि बर्दघाटको एउटा वन पहिचान गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
यसैबिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शव व्यवस्थापन स्थल तथा शव पहिचानका लागि अपनाइएको प्रक्रिया, शवको सुरक्षा, आफन्तहरूसँगको समन्वय र सहजीकरणबारे जानकारी लिएका छन्। सुनवल नगरपालिकास्थित एक सामुदायिक वनमा पनि शव व्यवस्थापन गरेर राखिएको छ।
