२०८३ आश्विन ८

उद्योगको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्न उद्योग–शिक्षालय सहकार्य
  • लुम्बिनी खोज
  • २०८३ आश्विन ८, बिहीबार १४:२६ गते

सीप विकास, औद्योगिक भ्रमण र रोजगारीसँग विद्यार्थीलाई जोड्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर

बुटवल, ८ असोज ।

रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा दक्ष श्रमशक्ति उत्पादन, व्यवहारिक शिक्षा तथा रोजगारीको सुनिश्चितताका लागि उद्योग र शिक्षालयबीच सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले शिक्षालयमा प्राप्त ज्ञानलाई उद्योगको व्यवहारिक आवश्यकतासँग जोड्न सके मात्र दक्ष तथा रोजगारमुखी जनशक्ति उत्पादन गर्न सकिने बताए। विद्यार्थीलाई अध्ययनसँगै उद्योगको वास्तविक कार्य वातावरण, प्रविधि र कार्यप्रणालीबारे जानकारी गराउन सके उनीहरूको व्यावसायिक क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।

अध्यक्ष पराजुलीले शिक्षालय र उद्योगबीच रहेको दूरी कम गर्दै विद्यार्थीलाई सीप, अनुभव तथा रोजगारीका अवसरसँग जोड्न रूपन्देही उद्योग संघले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको बताए। आगामी दिनमा पनि उद्योग र शिक्षालयबीचको सहकार्यलाई थप विस्तार गर्दै विद्यार्थीलाई व्यवहारिक ज्ञान र कार्यक्षेत्रको अनुभव दिलाउने कार्यक्रमलाई प्राथमिकता दिइने उनले उल्लेख गरे।

कार्यक्रममा इन्स्योर परियोजनाका लुम्बिनी प्रदेश प्रबन्धक अम्बिकाप्रसाद तिमिल्सिनाले परियोजनाको पृष्ठभूमि तथा विद्यालय र उद्योगबीच हुने समझदारीपत्रको मस्यौदा प्रस्तुत गरेका थिए। उनले उद्योग क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको पहिचान गरी सोहीअनुसार विद्यार्थीमा ज्ञान, सीप र व्यवहारिक क्षमता विकास गर्न विद्यालय तथा उद्योगबीच सहकार्य आवश्यक रहेको बताए।

उनका अनुसार समझदारीपत्रले शिक्षालय, विद्यालय र उद्योगबीच नियमित समन्वय कायम गर्दै सीप विकास, औद्योगिक भ्रमण, प्रयोगात्मक सिकाइ, कार्यस्थलमा आधारित सिकाइ तथा रोजगारीका सम्भावनासँग विद्यार्थीलाई जोड्ने आधार तयार गर्नेछ। उद्योगको वास्तविक आवश्यकता र शिक्षालयले उत्पादन गर्ने जनशक्तिबीचको अन्तर घटाउन यस्तो सहकार्य महत्वपूर्ण हुने उनले बताए।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै रूपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले विद्यालय तथा उद्योगबीच सहकार्य, समझदारी र साझेदारी विकास गर्न संघले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको बताए। शिक्षालयमा सिकेको ज्ञानलाई उद्योगको व्यवहारिक आवश्यकतासँग जोड्न सके मात्र सीपयुक्त, उत्पादनशील र रोजगारयोग्य जनशक्ति तयार गर्न सकिने उनको भनाइ थियो।

उनले विद्यार्थीलाई भविष्यको रोजगारीसँगै उद्यमशीलताका लागि तयार पार्न उद्योग र शिक्षालय दुवैले साझा जिम्मेवारी लिनुपर्ने बताए। उद्योगले विद्यार्थीलाई व्यवहारिक ज्ञान र कार्यक्षेत्रको अनुभव उपलब्ध गराउने तथा शिक्षालयले आवश्यक सैद्धान्तिक र प्राविधिक आधार तयार गर्ने वातावरण बनाउन सके त्यसबाट विद्यार्थी र उद्योग दुवै लाभान्वित हुने उनले उल्लेख गरे।

कार्यक्रममा प्रस्तुत गरिएको समझदारीपत्रको मस्यौदामाथि उद्योग तथा शिक्षालयका प्रतिनिधिबीच खुला छलफलसमेत गरिएको थियो। छलफलका क्रममा विद्यालयले उत्पादन गर्ने जनशक्ति र उद्योगको आवश्यकताबीचको अन्तर घटाउने, विद्यार्थीलाई व्यवहारिक सीप प्रदान गर्ने तथा उद्योग–शिक्षालय सहकार्यलाई संस्थागत बनाउने विषयमा विभिन्न सुझाव प्रस्तुत गरिएको थियो।

मस्यौदासम्बन्धी सुझाव संकलन तथा प्रतिबद्धता र हस्ताक्षरसम्बन्धी सहजीकरण लुम्बिनी प्रदेशका टिभेट संयोजक नेपालु राम चौधरी र सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले गरेका थिए।

कार्यक्रममा विभिन्न शिक्षालय, विद्यालय तथा उद्योगका प्रतिनिधि, सीटीईभीटीकी आईटी अधिकृत रोदिता शाक्यसहित ४६ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन रूपन्देही उद्योग संघका सचिव अशोक कुँवरले गरेका थिए।

उद्योग र शिक्षालयबीचको यस्तो सहकार्यले विद्यार्थीलाई सीप, अनुभव र रोजगारीका अवसरसँग जोड्नुका साथै उद्योग क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।